Monday, April 18, 2022

स्थानीय तहले हुँदैन भनेपछि केन्द्रबाट गठबन्धन लाद्न मिल्दैन : महामन्त्री थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने मत राखेको बताएका छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडको तयारी भइरहेका बेला महामन्त्री थापाले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले चुनावमा तालमेल नगर्न दबाब दिएको सुनाए । उनले स्थानीय तहले नै तालमेल नगरौँ भनेपछि केन्द्रबाट लादेर हुने गठबन्धनले नतिजामा फरक पर्न सक्नेतर्फ नेताहरुले ध्यान दिनुपर्ने बताए । काठमाडौं क्षेत्र नं। ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय चुनाव भएकाले स्थानीय नेता कार्यकर्ताको भावनाबमोजिम अघि बढ्नुको विकल्प नभएको समेत बताए ।

‘देशैभरिका साथीहरुले तालमेल गर्नु हुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला, तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ । हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरु मिलेर सरकार बनाउने कुरा स्वीकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नुहुदैन, किनभने यो विचार जोडिएको कुरा हो,’ थापाले भने, ‘यस्तो अवस्थामा अहिले हामीले केन्द्रबाट गठबन्धन थोपर्‍यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ । मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु । अहिले बस्ने बैठकमा पनि म यही कुरा राख्छु ।’  उनले तालमेल गर्ने वा नगर्ने भन्ने निर्णयको अधिकार तल्ला तहलाई नै भएकाले दुई दिनभित्र उम्मेदवारको टुंगो लगाएर मतदाताका माझमा जान आग्रह गरे ।

‘अब धेरै दिन छैनन् । हामीले उम्मेदवार चयनमा ढिला गरिसक्यौँ । गठबन्धन हुने कुरा नभएको भए हामीले चैत्र मसान्तभित्रै उम्मेदवारको टुंगो लगाइसक्थ्यौँ,’ उनले भने, ‘तर गठबन्धनको कारण केही ढिला भएको छ । अब एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लगाएर टोल टोलमा मतदातामाझ जानुहोस् । मनोनयन दर्तापछिको प्रचारका लागि पर्याप्त छैनन् ।’  महामन्त्री थापाले अहिले स्थानीय तहको पहिलो कार्यकाल पूरा हुँदा देशैभरि जनप्रतिनिधिले भ्रष्टाचार गरेको गुनासो आएको बताए । उनले त्यस्तो भ्रष्टाचार गन्ध नआउने गरी कांग्रेसका उम्मेदवारहरुले अहिले नै जनताको माझमा प्रतिबद्धता र विश्वास लिनुपर्ने बताए । ‘स्थानीय तहमा सबैभन्दा गुनासो आएको भ्रष्टाचार भयो भनेर हो । हामीले निर्वाचन जितेको वडामा, स्थानीय तहमा हामी एक रुपैयाँ पनि अपचलन हुन दिदैनौँ भनेर जनतालाई विश्वास दिलाएर अघि बढ्नुस्,’ उनले भने, ‘चाहे त्यो वडाध्यक्ष होस्, गाउँपालिका अध्यक्ष होस् वा मेयर होस् । कसैले पनि नेपाली कांग्रेसको तर्फबाट जनप्रतिनिधि भएपछि एक रुपैयाँ भ्रष्टाचार गर्न पाउदैन । यसमा पार्टीले पनि अनुगमन गर्छ ।’

No comments:

Post a Comment