Friday, March 31, 2023

दुप्चेस्वर दुर्घटनामा २ को मृत्यु

नुवाकोट । १७ चैत्र 


नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका वडा न ४ बेतिनिमा टाटा सुमो दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै मृत्यु ।काठमाडौबाट छुटेको  ना.१.ज ३९८४ नम्बरको टाटासुमो दुर्घटना भएको हो ।

Monday, March 20, 2023

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

नुवाकोट । ६ चैत्र

सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ । 

स्ववियु निर्वाचन ः नेविसंघका रविन दाहाल नेतृत्वको प्यानल नै बिजयी

६ चैत्र

नुवाकोटको सवैभन्दा धेरै विद्यार्थी संख्या रहेको नुवाकोट आदर्श वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सत्तापक्षीय गठबन्धन विद्यार्थी समुह विजयी भएको छ । सोमवार विहान सम्पन्न मतगणनाबाट नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूको संयुक्त समुह विजयी भएको हो । 

निर्वाचनबाट नेविसंघका रविन दाहाल ३ सय ४१ मत सहित सभापतिमा विजयी भएका छन् । यस्तै सचिवमा अनेरास्ववियु क्रान्तिकारीका राजेन्द्र पनेरु ४ सय ३० मत र कोषाध्यक्षमा अनेरास्ववियूका मनोज पौडेल ३ सय ४० मत सहित विजयी भएका छन् । सदस्यहरुमा अश्विन रिमाल, सन्तोष पन्त, सुप्रिया पौडेल, जनक भट्ट, अस्मिता पौडेल, सञ्जिता रिमाल र प्रदिप ढुङ्गाना निर्वाचित भएका छन् । प्रत्यक्ष निर्वाचनमा निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएको रिजन प्रधान नेतृत्वको समुह दोश्रो भएको छ भने नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले तेश्रो मत पाएको छ । 


यस्तै समानुपातिक तर्फ २ सय ८६ मत सहित नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ । निर्वाचनमा नुवाकोट क्याम्पसमा अध्ययनरत १ हजार १ सय ४३ विद्यार्थी मतदाता रहेकोमा ७ सय ४२ मत खसेको थियो । नुवाकोट आदर्श वहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो । 


Wednesday, March 15, 2023

स्ववियु निर्वाचन: रिजन प्रधानको नेतृत्वमा “स्वतन्त्र’ विद्यार्थी संगठित

 नुवाकोट, ३० फागुन । 

नुवाकोटको सवैभन्दा पूरानो र धेरै विद्यार्थी रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमय भएको छ । चैत्र ५ गते हुन गईरहेको  स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीहरुले बट्टारका रिजन प्रधानको नेतृत्वमा उमेदवारी दर्ता गरेको छ । ‘नियमित विद्यार्थीको सर्वसम्मत दावेदारी, पर्यटक उमेदवार विरुद्ध हाम्रो उमेदवारी‘ भन्ने नारा लिएर स्वतन्त्र विद्यार्थीहरु निर्वाचनमा होमिएका छन् । स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सचिवमा देवाशिष ढकाल, कोषाध्यक्षमा प्रशान्त भट्ट, सदस्यमा गोकर्ण भट्ट (सविन) र निरुता गजुरेल रहेका छन् । 

करिव १४ वर्षपछि यस क्याम्पस सहित देशैभरका क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । स्ववियु निर्वाचनमा पहिलो पटक प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचन हुँदैछ । नुवाकोट क्याम्पसमा कुल एक हजार एकसय ४३ जना विद्यार्थी मतदाता रहेका छन् ।

यसैविच, क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमवार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो ।  फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । 

अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ ।  यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । 


Monday, March 13, 2023

स्ववियु निर्वाचन : फैसलदिन मियाँको नेतृत्वमा अनेरास्ववियुको उमेदवारी

नुवाकोट । २९, फागुन । 

नुवाकोटको सवैभन्दा पूरानो र धेरै विद्यार्थी रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका सरगर्मी बढेको छ । चैत्र ५ गते हुन गईरहेको  स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले फैसलदिन मियाँको नेतृत्वमा उमेदवारी दर्ता गरेको छ । पछिल्लो पटक एक दशकभन्दा लामो समय स्ववियु विहिन रहेको नुवाकोट क्याम्पसमा आफ्नो पूरानो विरासत जोगाउने अठोटका साथ अखिलले एकल उमेदवारी दर्ता गराएको वताईएको छ । 

अखिलबाट फैसलदिन मियाँको नेतृत्वमा रहेको समितिमा सचिव राजकुमार गजुरेल र कोषाध्यक्ष  नविना आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा सुबास रिमाल, निकेश सापकोटा, सरज रिमाल , निराजन नेपाली, सुस्मिता नेपाल , समृता कोइराला र रबिना भट्टराई रहेका छन् । अखिलले समानुपातिक तर्फ आयुश अधिकारी, सन्तोष कुमाल, सबिना खड्का, बिमा श्रेष्ठ, बिना रिमाल, स्मिता कोइराला, सुमन कुमाल र प्रबिन श्रेष्ठलाई उमेदवारको रुपमा अगाडि सारेको छ ।


नुवाकोट क्याम्पसका पछिल्ला स्ववियु निर्वाचनमा वर्चस्व राखेको अखिलले यस पटक पनि आफ्नै नेतृत्व चयन हुने विश्वास राखेको सभापतिका उमेदवार मियाँले वताए । 

करिव १४ वर्षपछि यस क्याम्पस सहित देशैभरका क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । स्ववियु निर्वाचनमा पहिलो पटक प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचन हुँदैछ । नुवाकोट क्याम्पसमा कुल एक हजार एकसय ४३ जना विद्यार्थी मतदाता रहेका छन् ।