Sunday, April 17, 2022

आजको बैठकमा पनि गठबन्धनको सिट बाडफाड हुन सकेन


काठमाडौँ — सत्ता गठबन्धन दलहरूले आइतबार पनि सिट बाँडफाँटमा सहमति गर्न सकेनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । बैठकमा पाँच दलका नेताहरूले आ–आफ्नो दाबी पेस गरेर उठेका छन् ।          समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे धारणा मागेका थिए । बैठकले आइतबार कुनै टुंगो लगाउन नसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई कसरी व्यवस्थित गर्ने भनेर छलफल जारी छ । ‘सिट बाँडफाँट र उम्मेदवारीबारे छलफल भयो । तर आजै निष्कर्षमा पुग्ने अवस्था छैन । यो विषयमा निष्कर्षमा पुग्न अरु एक दिन लाग्न सक्छ,’ मन्त्री कार्कीले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा माओवादी केन्द्रले भरतपुर महानगर र धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले पनि पोखरा महानगरसहित उपमहानगरमा समेत नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । ‘सबै दलले आ–आफ्नो दाबी राख्यौं, दलभित्रका समस्याबारे पनि छलफल भयो, तर निष्कर्षमा पुगेको छैन,’ ती नेताले भने, ‘सोमबार बस्ने गठबन्धनको बैठकमा आज छलफल भएका विषयहरू प्रस्तुत गर्छौं ।’

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । त्यही समझदारीअनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनेका छन् । केन्द्रीय संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे शनिबारसम्म केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको थियो । तर, धेरैजसो प्रदेशमा तालमेलबारे अन्योलको अवस्था छ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । तर, उम्मेदवारको मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सिट बाँडफाँटकै टुंगो लगाउन सकेका छैनन् ।

No comments:

Post a Comment