Thursday, March 28, 2024

ढुङ्गेका घरटहरा भत्काउन शुरु

नवराज सुवेदी/नुवाकोट ।  

सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत ढुङ्गे क्षेत्रका सडक सीमाभित्र बनेका घरटहरा हटाउने कार्य सुरु भएको छ ।  मुआब्जासम्बन्धी मुद्दामा गत वर्ष पुसमा सर्वोच्चद्वारा जारी फैसला तथा आदेशको कार्यान्वयनको क्रममा सडक आयोजनाले स्थानीय तहसँगको समन्वयमा विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रका सडक केन्द्रबाट दायाँबायाँ १५र१५ मिटरभित्रका घरटहरा हटाउने कार्य सुरु गरेको विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितले बताउनुभयो । 

आयोजना अन्तर्गत पहिलो चरणमा निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ खण्डको आठ किलोमिटर सहरी क्षेत्रका स्थानीय बासिन्दाले जग्गाको मुआब्जा माग गर्दै २०७६ साल माघमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चले पिपलटार–ढुङ्गेको उक्त सडक क्षेत्र २०२० सालमा राजपत्रमा प्रकाशित सूचनाको आधारमा काठमाडौँ–त्रिशूली सहायक राजमार्गकै भाग पर्ने भएकाले मुआब्जा दिनु आवश्यक नदेखिएको ठहर गर्दै घरटहराको उचित क्षतिपूर्ति दिएर आयोजना निर्माण अघि बढाउन आदेश दिएको थियो ।  अदालतको सो आदेशको पूर्णपाठ गत वैशाखमा पाएसँगै आयोजनाले पिपलटार–ढुङ्गे क्षेत्रका घरटहराको लगत सङ्कलन तथा नापजाँच र मूल्याङ्कन गरी क्षतिपूर्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । अहिले क्षतिपूर्ति दिने र घरटहरा हटाउने कार्य अघि बढेको हो । सर्वोच्चको फैसलासँगै पिपलटार–ढुङ्गे अन्तर्गत करिब चार किलोमिटर गङ्गटेदेखि ढुङ्गे क्षेत्रको सडक निर्माण अघि बढ्ने भएको छ । 

गोरखापत्र

No comments:

Post a Comment