Thursday, March 28, 2024

समन्वयको अभावमा बनिबनाउ संरचना भत्काइँदै

 नवराज सुवेदी

नुवाकोट, चैत १४ गते । समयमै छलफल र समन्वय नहुँदा नुवाकोटको विदुर नगरपालिकामा ढल निर्माण तथा प्रशोधन आयोजना निर्माणको व्रmममा लाखौँ रुपियाँको लागतमा नवनिर्मित्त कालोपत्रे सडकलगायत पक्की भौतिक संरचना भत्काइएको छ । जिल्ला सदरमुकामको विदुरमा ढल निर्माण गरिए पनि सडकबाटै भेल बग्न छोडेको छैन । वर्षौंदेखि व्यवस्थित सडक र ढल अभावमा डुबानमा पर्दै आएको चोकमा राम्रो सडक निर्माण भए पनि पक्की सडक भत्काएर हिलाम्मे बनाएपछि पुरानै समस्याले स्थानीय र यात्रु आजित बनेका छन् । पक्की सडक भत्काएर ढल निर्माण सुरु गरेसँगै  पैदलयात्रु र सवारीचालकले निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको स्थानीय दीपकराज केसीले बताउनुभयो । नुवाकोटको विदुर र त्रिशूली बजार ढल निर्माण तथा प्रशोधनको संरचना निर्माण गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर र विदुर नगरपालिकाबिच समयमै छलफल र समन्वय नभएका कारण विदुर नगरपालिकाका सहरी तथा आवासीय क्षेत्रमा निर्माण गरिएका कालोपत्रे सडक तथा पक्की भौतिक संरचना भत्काउनु परेको विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाका सबइन्जिनियर सुरेश आलेले बताउनुभयो । 

आयोजनाद्वारा २०७७ सालमा नुवाकोटको विदुर नगरपालिकाका आधा दर्जनभन्दा बढी वडाका सहरी र आवासीय क्षेत्रलाई लक्षित गरी ढल निर्माण तथा प्रशोधन कार्य अन्तर्गतको डिपिआर तयार गरी ठेक्का प्रव्रिmयाको तयारी गरिएको थियो । चार वर्षअघि सुरु भएको यो परियोजनाबाट विदुर नगरपालिकाको मुख्य र व्यस्त सडक प्रभावित भएको र आयोजना निर्माण कार्यमा ढिलासुस्ती हुँदा बाटोमुनि ह्युमपाइप बिछ्याउनेलगायतका कार्यका लागि अवरोध पुगेको छ । विदुर नगरपालिकाका तत्कालीन जनप्रतिनिधिले आयोजना सञ्चालन सुनिश्चित भए पनि आयोजनासँग छलफल र समन्वय नै नगरेका कारण अहिले नगरपालिकाको लगानीमा निर्माण भएको कालोपत्रे सडक भत्काउनु पर्ने अवस्था आएको हो । नगरपालिकाले निर्माण गरेको सदरमुकाम विदुरलगायत बट्टार, त्रिशूली, कलोनी, पिपलटार, माझिटार र इनारपाटीलगायत स्थानमा निर्माण गरिएका करिब १८ किलोमिटर आसफाल्ट र प्रिमिक्स प्रविधिको कालोपत्रे सडक तथा भौतिक संरचना भत्काउँदै आयोजनाद्वारा ढल निर्माण तथा प्रशोधन कार्य अगाडि बढाइएको छ । 

No comments:

Post a Comment