Wednesday, April 20, 2022

नुवाकोटमा नेवार समुदायका कन्याको सामुहिक बेल विवाह

नुवाकोट । ६ बैशाख


नुवाकोटमा नेवार समुदायका कन्याहरुको सामुहिक बेल विवाह (ईही ) गरिएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा यहाँ हुने भैरवि रथयात्राकै क्रममा देविघाटस्थित जालपादेवि मन्दिर परिसरमा सामुहिक बेल विवाह गरिएको हो । 

नेवार समुदायमा केटि मानिसको तिन पटक विवाह गरिन्छ । पहिलो विवाह बेलसँग, दोश्रो विवाह सूर्यसँग र तेश्रो विवाह पुरुषसँग । पहिले आ आफ्नै घरमा हुने गरेको बेल विवाह पछिल्लो समय भने सामुहिक रुपमा हुन थालेको हो । नुवाकोटको प्रमुख मेला भैरवि रथ यात्राको अवसर पारेर देविघाटको जालपादेवि मन्दिरमा वालिकाहरुको सामुहिक बेल विवाह गरिएको हो । बेललाई शिवपुत्र कुमारको स्वरुप सुवर्ण कुमार मानेर विवाह हुने गरेको हो । इहि नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो । इहि कन्यादानकै एक विधि पनि हो । विशेषगरी नेपाल संवत्अनुसार बछलाथ्व अक्षय तृतीयाको अवसर पारेर कन्याको इहि गर्ने चलन छ । साइतअनुसार अरू बेला पनि गर्न सकिन्छ । अक्षय तृतीया, श्रीपञ्चमी तथा विवाह पञ्चमीको दिनमा इहि गर्नका लागि साइत हेराउनु वा जुराउनुपर्दैन भन्ने मान्यता पनि छ । रजस्वला हुनुअघि नै, विशेषगरी बिजोर उमेर (५, ७, ९, ११) पारेर नेवार कन्याको इहि गरिन्छ ।

सनातन हिन्दू संस्कारअनुसार, सोह्र संस्कार छन् । हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरुले दशकर्म संस्कारलाई मात्रै अनुसरण गर्दै आएको पाइन्छ । तिनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इहि । पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इहि र बाःराः तयेगु चलाइएको हो । चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इहि र बाःराः तयेगु हिन्दु र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ । इहि गरिसकेका कन्यालाई सिउँदोमा सिन्दुर लगाउने छुट छ । त्यसैले अविवाहित नेवार युवतीलाई सिउँदोमा सिन्दुर लगाउन छुट छ । इहिकै क्रममा विधिपूर्वक कन्यादान गरिसकिने हुँदा नेवार युवतीको विवाहमा विवाहको मण्डप सजाउने अथवा कन्यादान गर्नुपर्ने जरुरत पर्दैन र कुनै हवन यज्ञको पनि आवश्यकता पर्दैन । 

बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने शास्त्रीय मान्यता छ । परम्परा जोगाउन र सामाजिक तडक–भडक घटाई  खर्च कम गर्न सामूहिक


बेलविवाहको आयोजना भएको हो । यस पटक देविघाटमा सम्पन्न बेलविवाह अर्थात ईहीमा जिल्लाको बट्टार, गंगटे, देविघाट, त्रिशूली लगायत स्थानका तिन दर्जन भन्दा बढि नेवार बालिकाहरुको सहभागिता रहेको थियो । 


No comments:

Post a Comment