Wednesday, April 20, 2022

पर्यटकीय सुईरेचौरमा पत्रकारिता अध्ययन केन्द्र (भिडियो समाचार)

नुवाकोट । बैशाख ५

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’को भवन निर्माण भएको छ । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य वियोगीको स्मृतीमा भवन निर्माण भएको हो ।

नवनिर्मित भवन तथा वियोगीको शालिकको एक कार्यक्रमका विच नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै नेता महतले नेपालको पत्रकारिता र तत्कालिन अवस्थामा बहुदलीय ब्यवस्थाको लागि वियोगीले पु¥याउनुभएको योगदानको चर्चा गरे । नुवाकोटको पर्यटकीय स्थल सुईरेचौरमा भवन  निर्माण हुँदा यहाँको पर्यटकीय सम्भावना अझै बढेको डा महतले वताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, वागमती अञ्चल अध्यक्ष शिव देवकोटा लगायतले निर्माण सम्पन्न भएको भवनबाट पत्रकारहरुलाई प्रशिक्षण दिन थप सहज हुने वताए । 

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवर्धनका लागि अध्ययन केन्द्र निर्माणले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । तर, शिवपुरी राष्ट्रिय निकुञ्जको चेकपोस्ट भएर यो सडक पार गर्न आन्तरिक पर्यटकलाई पनि निकुञ्जले ५ सय रुपैयाँसम्म शुल्क लिने गरेकोले पर्यटन प्रवर्धनमा समस्या भएको केसीको भनाइ थियो । सम्पादक समाजका महासचिव श्याम डोटेलले ‘वियोगी पत्रकारिता अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिए । 

भवन उद्घाटन कार्यक्रम सँगै सम्पादक समाज नेपालले पत्रकारहरुलाई सम्मान समेत गरेको छ । गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार विष्णु नेपाल र राजेन्द्र बानियाँलाई गरेको छ । समाजले राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाललाई ‘विशेष पत्रकारिता पुरस्कार २०७८’ र हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई  ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरेको हो । सम्पादक समाज नेपालले २०६२ सालदेखि संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार १ र २५ हजार १ रहेको छ ।  

यस्तै, कार्यत्रक्रममा पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । 


No comments:

Post a Comment