Tuesday, March 12, 2024

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज

राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षीबाट एक/एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारीको प्रस्तावलाई मङ्गलबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता भएको छ । सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२ का ७३ वर्षीय युवराज शर्मा २०४५ देखि २०४९ सालसम्म नेपाली कांग्रेस, बाँकेको सभापति हुनुहुन्थ्यो । उहाँको प्रस्तावक आनन्दप्रसाद ढुङ्गाना हुनुहुन्छ । शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह र कांग्रेसकै किरणबाबु श्रेष्ठले समर्थन गर्नुभएको छ । २०७८ पुसमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएका शर्माको पदावधि चार वर्ष बाँकी छ । 

सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका ६८ वर्षीय दाहाल राष्ट्रपतिबाट मनोनीत सदस्य हुनुहुन्छ । २०७८ चैतमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत दाहालको समेत चार वर्ष पदावधि बाँकी छ । भरतपुर महानगरपालिका–१४ का दाहाललाई अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले प्रस्ताव गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले) का देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसाल र जनता समाजवादी पार्टीका मोहम्मद खालिदले समर्थन गर्नुभएको छ । 

५८ जना सदस्य रहेको राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६ र जनता समाजवादी पार्टी नेपालका एक सदस्य छन् । अध्यक्षमा निर्वाचित हुन ३० जना सदस्यको दस्तखतसहितको मत विभाजन आवश्यक पर्ने छ । 

माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल हो । सो पार्टीका १७ जना सदस्य छन् । सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई समर्थन गर्ने माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य छन् । यसरी दलले गरेको समर्थनका आधारमा दाहालको पक्षमा ३८ सदस्य छन् ।  राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रिय जनमोर्चाको समर्थन खुलेको छैन । मनोनीत दुई जना छन् । 

आज निर्णयार्थ प्रस्तुत हुने

अध्यक्ष पदको मतदानका लागि मङ्गलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने छ ।  राष्ट्रिय सभाको अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा नियमावली अनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ तर दुई वटा प्रस्ताव दर्ता भएकाले दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने छन् । 

बैठकमा दुवै प्रस्तावमाथि सङ्क्षिप्त छलफल हुने छ र त्यसपछि अध्यक्षता गर्नेले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने छन् । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ सदस्यको पदावधि गएको फागुन २० गते सकिएपछि रिक्त रहेको अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।   

गोरखापत्र दैनिकवाट

No comments:

Post a Comment