Thursday, March 10, 2022

एघार बुदे माग सहित फोनिजको बागमती प्रदेश बैठक सम्पन्न

  नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको पूर्ण बैठक ११ बुँदे मागसहित सम्पन्न भएको छ ।

मंगलबार विदुरमा भएको फोनिज बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता भएको दुईदिने बैठकले नेपाल सरकारले युट्युबलाई अनलाईन टिभीको व्याख्या गर्दा ५ लाख शुल्क बुझाएर दर्तागरी सञ्चालन गर्न राष्ट्रिय प्रशारण नियमावली २०७८ जारी गरेकोमा उक्त नियमावली फिर्ता गर्न सरकारको ध्यानाकर्षण गरेको छ । युट्युब मिडिया नभई माध्यम मात्र भएको ठहर गरेको छ । फोनिज बागमती प्रदेश समितिका इञ्चार्ज समीर बलामीको प्रमुख आतिथ्यमा भएको बैठकले ऐतिहासिक नुवाकोट दरबार क्षेत्रसहित देविघाट त्रिवेणी, ककनीस्थित रुम्बा राजाको दरबारलाई संरक्षण गरी पर्यटक प्रबद्र्धन गर्न स्थानीय सरकारलाई जोडदार माग गरेको छ । 

साथै, नुवाकोटमा रहेका आदिवासी जनजातिहरुको कला, संस्कृति भाषा र पहिचानलाई संरक्षण गरी प्रचारप्रसारसहित पर्यटन प्रबर्द्धन गर्न स्थानीय र प्रदेश सरकारसँग माग गरेको छ । 

बैठकले आदिवासी जनजाती कुलमा जन्मिएर पत्रकारिता पेशा अंगालेका पत्रकारलाई पहिचान गरी वृत्तिविकास र समावेशीतालाई कार्यन्वयन गर्न र फोनिजभित्र संगठित भएका महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि, लेखनवृत्ति र व्यवसायिक पत्रकारिताका विषयमा कार्यक्रम संचालन गर्न तीनै सरकारसँग माग गरेको छ । राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठुला तथा साना सञ्चार माध्यमलाई प्रदान गर्न माग गरेको छ  । 

बैठकले पूर्ण समावेशी सञ्चार व्यवसायिक पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरेको छ । घोषणापत्रमा आदिवासी सवाल कला, संस्कृति र पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु निरन्तर सहकार्यमा सञ्चालन गर्न स्थानीय सरकारसँग माग समेत गरेको छ ।

No comments:

Post a Comment