Tuesday, August 23, 2022

कर्मचारी र श्रमिकको तलब भत्ता पुनरावलाेकन गर्न उच्चस्तरीय आयोग गठन

नुवाकोट, भदौ ७ गते । 

सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गरी त्यसबारे आवश्यक अध्ययन गरी सिफारिस गर्न आयोग गठन गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको आर्थिक अवस्था र खर्च बहन गर्न सक्ने क्षमता समेतको आधारमा उनीहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न उच्चस्तरीय आयोग गठन गरिएको जानकारी दिए । सोमबारको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने गरी यसअघि गरेको निर्णय खारेज गरेको छ । २०७८ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय गरेको थियो । मन्त्री कार्कीले सोमबारको बैठकले त्यसबेलाको निर्णय खारेज गरेको जानकारी दिए ।

त्यस्तै, बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्वीकृत गरेको छ ।

No comments:

Post a Comment