Saturday, February 11, 2023

के तपाईं शीघ्र स्खलनले तनावमा हुनुहुन्छ?

डा अनिल शाह 

शीघ्र स्खलन भनेको के हो?    

शीघ्र स्खलन भनेको यौनसम्पर्क गर्दा पुरुष वा उसको पार्टनरले चाहेको समयभन्दा चाँडो स्खलन हुनु हो। कतिलाई यो चिन्ताको विषय नहुन सक्छ। तर यसले गर्दा धेरै व्यक्तिमा यौन सम्बन्ध सन्तोषजनक नहुने हुनाले जीवनमा निराशा थप्नुका साथै व्यक्तिगत सम्बन्धलाई पनि असर गर्छ। यदि शीघ्र स्खलन पटकपटक हुन्छ र समस्या निम्त्याउँछ भने डाक्टरसँग सल्लाह लिनु जरुरी हुन्छ।

सामान्य स्खलन कसरी हुन्छ? 
बिर्य स्खलन भनेको यौन तथा यौनजनक क्रियाकलाप गर्दा आरामदायी तरिकाले लिङ्गबाट बिर्य निस्किनु हो। यो प्रक्रिया तपाईंको मस्तिष्कको नियन्त्रणमा हुन्छ। यौन उत्तेजना भएको बेला उत्तेजनापूर्वक सिग्नल एस्पाइनल कर्ड हुँदै मष्तिस्कमा पुग्ने गर्छ। एउटा निश्चित उत्तेजनामा पुगिसकेपछि मष्तिस्कले बिर्य स्खलनको लागि तल सिग्नल पठाउँछ र सामान्यतया स्खलन हुने गर्छ।

शीघ्र स्खलन कसरी हुन्छ?
शीघ्र स्खलनको वास्तविक कारण थाहा छैन, तर मानिसमा शीघ्र स्खलन हुन सक्ने अनेकौं कारण छन्। जस्तै: जैविक, रासायनिक वा भावनात्मक। तीमध्ये केही कारण यस प्रकार छन्:

१.रगतमा सेरोटोनिनको मात्रा कमी हुनु: सामान्य अवस्थामा सेरोटोनिनले मानिसको मुड, भावना, निद्रा र यौन इच्छालाई नियन्त्रण गर्छ। रगतमा सेरोटोनिनको मात्रा बढी हुनाले स्खलन प्रक्रिया ढिला हुने गर्छ।  

२.भावनात्मक कारणहरु: डिप्रेसन, तनाव, आत्मग्लानी, यौन क्रियाकलापबाट चाहिनेभन्दा बढी आशा राख्नु, यौन क्रियाकलापबारे आत्मविश्वास कम हुनु, यौन उत्पीडनको इतिहास, व्यक्तिगत सम्बन्धमा समस्या, पारिवारिक समस्या इत्यादि।

३. उमेर बढ्दै जानु: शीघ्र स्खलनको समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ। उमेर शीघ्र स्खलनको प्रत्यक्ष कारण चाहिँ होइन। तर उमेरले लिङ्ग उत्तेजना र स्खलन प्रक्रियामा परिवर्तन ल्याउन सक्छ। उमेर बढ्दै जाँदा चरम सुखको क्षणमा पुग्नुअघि नै लिङ्गको उत्तेजना कम भएर जाने अथवा स्खलन हुने समस्या आउन सक्छ।

४. आफ्नो यौन साथीसँगको सम्बन्ध: शीघ्र स्खलनले गर्दा आफ्नो यौन सहकर्मीसँग सम्बन्ध बिग्रिन सक्ने, रिस उठ्न सक्ने, व्यक्तिगत आत्मीयतामा दूरी आउन सक्ने, लज्जित हुन सक्ने र विस्तारै परिस्थिति तनावपूर्ण हुन सक्ने समस्याहरु आउन सक्छ।  

शीघ्र स्खलनको निदान कसरी गरिन्छ? 
कम्तीमा अलिकति पनि बिर्य स्खलन प्रक्रियालाई आफूखुसी नियन्त्रण गर्न सक्षम हुन सक्नु पुरुषहरूको लागि सामान्य मानिन्छ। यदि अलिकति पनि नियन्त्रण गर्न सकिँदैन भने त्यो चिन्ताजनक अवस्था हो, र यस्तो बेला बिरामीले यसको उचित निदानको लागि युरोलोजिस्टसँग सर-सल्लाह गर्नुपर्छ। यसको निदानको लागि मुख्य कुरा यौन सम्पर्क गर्दा बिर्य स्खलन हुने समयलाई ध्यान दिनु पर्ने हुन्छ। जस्तै: चाँडै स्खलन हुनु, ढिला स्खलन हुनु वा स्खलन हुँदै नहुनु।

प्राय: तपाईंसँगको कुराकानी र सामान्य शारीरिक जाँचले नै चिकित्सक एउटा निर्णयमा पुग्न सक्छन्। चिकित्सकले यो रोग निदानको लागि तपाईंसँग निम्न प्रश्नहरु सोध्न सक्छन्: 
१. यौन सम्पर्क गर्दा शीघ्र स्खलन जहिले पनि हुन्छ कि कहिलेकाहीँ हुन्छ?  
२. यो समस्या कहिलेदेखि छ?
३. के यो समस्या एउटै यौन साथीसँग सम्पर्क राख्दा देखिन्छ कि अन्यसँग पनि?
४. के तपाईं आफ्नो यौन अभ्यासलाई केही वर्णन गर्न सक्नुहुन्छ?
५. यो समस्याले तपाईंको दैनिक जीवन, व्यक्तिगत जीवन र यौन जीवनलाई कत्तिको असर गरेको छ?
६. यौन साथीसँग तपाईंको आत्मीय सम्बन्ध कस्तो छ? 
७. केही यस्तो वस्तु, क्रियाकलाप जसले यो समस्यालाई बढावा दिन्छ अथवा अझ जटिल बनाउँछ? जस्तै: कुनै विशेष किसिमको औषधि सेवन, मदिरा, धूमपान इत्यादि।   

चिकित्शकले आवश्यकता अनुसार केही ल्याब टेस्ट पनि गराउन सक्छन्। 

शीघ्र स्खलन हुँदा के-के कुरामा ध्यान दिनुपर्छ?
यौन जीवनमा शीघ्र स्खलनले समस्या दिन थालेको अनुभव हुनासाथ तपाईंले आफ्नो नजिकैको विशेषज्ञ युरोलोजिस्ट चिकित्सकसँग सर-सल्लाह गर्न उचित हुन्छ। कति बिरामीलाई त यस्तो समस्या हुँदा कुन किसिमको डाक्टरकहाँ उपचारको लागि जाने भन्ने ज्ञानको पनि कमी देखिन्छ र उनीहरु अलमलमा पर्ने गर्छन्। कति बिरामी त झारफुकको पछि लागेरआफ्नो समय र पैसा दुवै खेर फाल्ने गरेको देखिन्छ।

सर्वप्रथम यस्तो समस्या हुँदा उचित चिकित्सक छान्न जरुरी हुन्छ। यस सम्बन्धी उचित चिकित्सक भनेको विशेषज्ञ युरोलोजिस्ट हो, जसले यस सम्बन्धी विशेष अध्ययन गरेका हुन्छन र उनीहरुले नै तपाईंको समस्या समाधान गर्न सक्छन्।

चिकित्सकले आपसी सल्लाह गरेर एउटा सही किसिमको उपचार पद्धति तपाईंको लागि छान्न सक्नुहुन्छ। कति बिरामीले त एकै समयमा विभिन्न किसिमका उपचार पद्धति पनि अपनाउने गरेको पाइन्छ। मनोवैज्ञानिक थेरापी, व्यावहारिक् थेरापी (यौन अभ्यास) र केही विशेष किसिमका औषधिहरू नै शीघ्र स्खलनको मुख्य उपचार हो।

यौन सम्बन्धमा समस्या निम्त्याउन सक्ने भावनाहरूलाई मनोवैज्ञानिक थेरापीमार्फत उपचार गरिन्छ। यस प्रकारको थेरापीको मुख्य लक्ष्य भनेको शीघ्र स्खलनको कारण पत्ता लगाउनु र समस्याहरूको समाधान खोज्नु हो। यस प्रकारको थेरापी एक मात्र उपचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ वा अन्य विकल्पहरु जस्तै: व्यावहारिक थेरेपी वा मेडिकल थेरापीद्वारा पनि प्रयोग गर्न सकिन्छ।

व्यावहारिक थेरापी भन्नाले बिरामीको दिसा-पिसाब आउने ठाउँको मांसपेसी बलियो बनाउने कसरत सिकाउनु हो, जसले बिर्य स्खलन ढिला गराउन मद्दत गर्छ। केही विधिहरु यस प्रकार छन्:

१. स्खलन हुनै आँट्दा लिङ्ग निचोड्ने विधि: लिङ्ग उत्तेजित भइसकेपछि स्खलन हुनै लाग्दा लिङ्गलाई जोडले निचोड्नु पर्छ, जसले गर्दा लिङ्ग आंशिक रुपमा खुकुलो भएर आउँछ र स्खलनलाई केहीबेरको लागि रोक्छ। 

२. रोक्ने र सुरु गर्ने विधि : बिर्य स्खलन हुनै आँट्दा बीचैमा सम्भोग रोक्नु र केहीबेरमा फेरि प्रक्रिया सुरु गर्नु। प्रत्येक पटकको यौन सम्पर्कमा ३ देखि ४ पटक यो प्रक्रिया दोहोर्याउनु पर्छ। यसले विस्तारै स्खलनलाई नियन्त्रित गर्न मद्दत पुग्छ। 

३. यौन सम्पर्कभन्दा ठिक अघि क्रिम अथवा स्प्रेको प्रयोग गर्ने।  

औषधि उपचार: आफू नजिकैको विशेषज्ञ युरोलोजिस्टको सरसल्लाह बमोजिम उचित औषधि प्रयोग गर्नु होला। यो समस्या पूर्ण रुपमा समाधान हुन समय लाग्न सक्छ। तसर्थ धैर्य राखेर आफ्नो चिकित्सकसँग नियमित फलोअप गरिराख्न सुझाव दिइन्छ।

तसर्थ, शीघ्र स्खलनले तपाईंको दैनिक जीवन, यौन सम्बन्ध र व्यक्तिगत जीवनमा समस्या दिन थालेको अनुभव हुनासाथ आफू नजिकैको विशेषाज्ञ युरोलोजिस्ट चिकित्सकलाई भेटी उचित सर-सल्लाह गर्न सुझाव दिइन्छ। यसले तपाईंको समस्या जटिल हुनबाट जोगाउँछ र बेलैमा उचित उपचार गरी समस्याको समाधान गर्न मद्दत पुर्याउँछ।

(डा शाह युरोलोजिस्ट हुन्। उनी मेडिसिटी अस्पताल र कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा कार्यरत छन्।)

No comments:

Post a Comment