गृहपृष्ठ

Wednesday, April 10, 2024

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन सुझाव

डढेलो, पूर्वाधार निर्माण, सवारीसाधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने लगायतका समस्या प्रत्यक्ष देखिन थालेका छन् । सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउनेलगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाउने गरेको पाइन्छ ।

  भरतपुर अस्पतालका फिजिसियन डा प्रतीक न्यौपानेले डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ ।” वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको उहाँको भनाइ छ । वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्छ ।” वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।  त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने डा न्यौपानेको भनाइ छ । भरतपुरका अस्पतालमा वायुमण्डको प्रभावका बिरामीको सङ्ख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

  भरतपुर आखाँ अस्पतालका नेत्र रोग विशेषज्ञ प्रा डा सुनु दुलालले वायुमण्डलमा भएको प्रदूषणका कारण टाउकोदेखि माथिका भागलाई असर गर्ने बताउनुभयो । उहाँका अनुसार आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने गर्दछ ।   आँखा पोल्ने तथा बिझाउने हुँदा आँखा मिच्न नहुने डा दुलालले बताउनुभयो । आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने उहाँको भनाइ छ । वायुमण्डलमा डढेलोका कारण अहिले देखिएको असरको दीर्घकालीन समस्या नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको उहाँले बताउनुभयो ।

डा दुलालले भन्नुभयो, “यसले दीर्घकालीन समस्या नपरे पनि यसबाट बाँच्नुपर्छ ।” यसबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा बेलाबेलामा सफा पानीले धोई रहने, चिसो कपडाले आँखाको बाहिरी भाग पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव छ । जिल्लामा रहेका सामुदायिक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ । यसले गर्दा वायुमण्डल मात्रै प्रदूषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनकोसमेत क्षति हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गरेको छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार डढेलो नियन्त्रणका लागि काम भइरहेको छ । समुदायमा सचेतना जगाउने र नियन्त्रणका लागि अग्नी रेखा कोर्ने, अग्नी नियन्त्रक सामान तयारी अवस्थामा राख्ने काम गरिएको उहाँले बताउनुभयो । 

No comments:

Post a Comment