Saturday, March 30, 2024

पहिलो पटक तोकियो चैते धानको समर्थन मूल्य

१८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २७०७.२८ रुपैयाँ

काठमाडौँ — मुलुकभर चैते धान रोपाइँको चटारो चलिरहँदा सरकारले पहिलो पटक चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा मूल्य कायम गर्ने निर्णय गरिएको जनाइएको छ ।

बाली लगाउनु ३ महिनाअघि नै मूल्य तोक्नुपर्छ । सोही आधारमा किसानले बाली लगाउने/नलगाउने निर्णय गर्छन् । तर यसपालि धान रोपाइँको चटारो भइरहँदा मूल्य तोकिएको छ । यद्यपि पहिलो पटक मूल्य तोकिएकाले किसानका लागि राम्रो भएको जानकार बताउँछन् । ‘मूल्य ३ महिनाअघि नै तोक्नुपर्छ, ढिलो भए पनि चैते धानको मूल्य पहिलो पटक तोकियो,’ कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘पहिलो अभ्यास भएकाले यसलाई स्वागत गर्नुपर्छ ।’ चैते बाली लगाएपछि धान भित्र्याउँदा बर्खा सुरु हुन्छ । बाली भित्र्याउँदा अप्ठ्यारो हुने भएकाले सरकारले त्यता पनि ध्यान दिनुपर्ने अधिकारीले बताए ।

‘सरकारले मूल्य तोकेर मात्रै हुँदैन, बाली भित्र्याउँदा आइलाग्ने समस्याको समाधान पनि खोजी गर्नुपर्छ । किसानको खेतखेतमा पुगेर धान किन्ने प्रणालीको विकास गर्न जरुरी छ,’ अधिकारीले भने, ‘सरकार किसानकै खेतसम्म पुग्न सके धान उत्पादन बढ्छ ।’ चैते धानको समर्थन मूल्य तोक्ने तयारी दुई महिनाअघिदेखि नै गरिएको विभागका महानिर्देशक हरिबहादुर केसीले जनाए । सबै प्रक्रिया पूरा गर्दा केही समय लागेको उनको भनाइ छ । ‘कृषि मन्त्रालय हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय हुन करिब २ महिना लाग्यो,’ उनले भने, ‘चैते धानको पहिलो पटक मूल्य तोकियो, सुरुवात राम्रो भयो ।’

न्यूनतम मूल्यका लागि कृषकको उत्पादन लागत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश र पालिकाको तथ्यांक, मिलसम्म लैजाने ढुवानी र केही प्रतिशत मुनाफासहित राखेर मूल्य तोकिएको छ । यीबाहेक सीमावर्ती मूल्य पनि लिइएको केसीले बताए । ‘समर्थन मूल्य भनेको न्यूनमत मूल्य हो, किसानले बढीमा पनि बेच्न सक्छन्,’ उनले भने, ‘केही बालीको मूल्य तोकेका छौं, अब बिस्तारै अन्य बालीको पनि तोक्छौं । समर्थन मूल्य हुँदा किसानलाई घाटा हुँदैन ।’

नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म धान खेती गरिन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब २४.१ प्रतिशत कृषिको योगदान छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । यसले खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय महत्त्व राखेको कृषि विभागले जनाएको छ । धानले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो पटक धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । चैते र बर्खे दुवै बालीको क्षेत्रफल घटेको छ । सहरीकरण र बाँझोपनका कारण क्षेत्रफल घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ ।

मन्त्रालयको विवरणअनुसार ०७९/८० को तुलनामा ०८०/८१ मा ३ हजार ८ सय ९५ हेक्टर धानको क्षेत्रफल घटेको छ । ०७९/८० मा १ लाख ८ हजार ६ सय ७ हेक्टरमा चैते धान लगाइएकामा ०८०/८१ मा १ लाख ४ हजार ७ सय १२ हेक्टरमा लगाइएको थियो । चैते धानको उत्पादन पनि १९ हजार ५ सय २३ टन घटेको छ । ०७९/८० मा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको चैत धान ०८०/८१ मा ५ लाख २० हजार ८ सय ८ टन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । धानको उत्पादकत्वमा समेत कमी आएको छ ।

गत वर्ष प्रतिहेक्टर ४.९८ टन रहेकामा ०८०/८१ मा घटेर ४.९७ टनमा झरेको छ । चैते र बर्खे धानको तुलनामा भने चैते धानको उत्पादकत्व बढी छ । मन्त्रालयका अनुसार बर्खे धानको उत्पादकत्व ३.९० टन मात्रै छ । चैते बालीको उत्पादन बढाउन सके आयातमा कमी गर्न सकिने कृषि विभागका अधिकारीहरू बताउँछन् । ‘तापक्रम र प्रकाशका कारण चैते धानको उत्पादकत्व बढी नै छ,’ केसीले भने ।

खाद्यले किन्न सकेन धान

विगतका वर्ष झैं यस वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान किन्न सकेन । कम्पनीले चालु आर्थिक वर्षमा पाँच लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर ४६ हजार ६४९ क्विन्टल मात्र किनेको छ । किसानको धान खरिदमा जहिल्यै ढिलाइ गरेको आरोप खेप्दै आएका कम्पनीले यस पटक भने मंसिरमै खरिद प्रक्रिया थालेको थियो ।

सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य गत असोज अन्तिम सातामा तोकेको थियो । मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ तोकेको थियो । त्यसलगत्तै धान खरिद प्रक्रिया थालेको खाद्यले यस पटक पनि लक्ष्य भेटाउन सकेन । धान खरिद गर्न नसकेपछि खाद्यले चामल किन्न प्रक्रिया थालेको छ ।

No comments:

Post a Comment