Monday, January 29, 2024

समुदायमा कांग्रेस अभियान : नुवाकोटका लागि मिनेन्द्र रिजाल

काठमाडौँ — नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरुलाई नै विभिन्न जिल्लामा खटाएको छ । यसअन्तर्गत नुवाकोटका लागि कांग्रेस नेता मिनेन्द्र  रिजाल तोकिएका छन् । रिजाल नुवाकोट सहित काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र रसुवाका प्रतिनिधी छन् । 

कांग्रेसले ७७ वटै जिल्लामा १÷१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक–फरक जिल्लामा फरक–फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई समेत खटाएको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका पदाधिकारीहरुसहित शीर्ष नेता र केन्द्रीय सदस्यहरु समेतलाई फरक–फरक जिल्लामा फरक–फरक समुदायसँग संवाद गर्ने गरी खटिएको जानकारी दिए । माघ १६ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरुले सम्बन्धित जिल्लामा पुगेर फरक–फरक समुदायसँग संवाद गर्नेछन् । मुख्यसचिव पौडेलका अनुसार कोशी प्रदेशमा शेखर कोइराला, नारायण खड्का र बलबहादुर केसी खटिएका छन् । त्यस्तै, मधेस प्रदेश र वागमती प्रदेशका जिल्लामा प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय, मिनेन्द्र रिजाल र पुष्पा भुसाल खटिएका छन् । त्यस्तै, गण्डकी प्रदेशमा महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि र डिला संग्रौला, कर्णाली प्रदेशमा डा. शशांक कोइराला र सुदूरपश्चिम प्रदेशका लागि भिष्मराज आङ्देम्बे खटिएका छन् ।


No comments:

Post a Comment