Thursday, April 20, 2023

एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै

काठमाडौँ ।


पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२ , ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उहाँले बताउनुभयो । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ । वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।उपलब्ध औजार सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाउन देशभर परिपत्र गरेको छ । साथै विभागले यसमा आवश्यक सहयोगका लागि रक्षा र गृह मन्त्रालयलाई पत्राचार गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत आग्रह गरेको जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् । विगत १४ वर्षसम्म सङ्कलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना घटेको पाइएको छ । तथ्याङ्कअनुसार सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । मानिसहरुको जानाजानीबाट ६४ प्रतिशत, लापरवाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञातकारकबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।

No comments:

Post a Comment