Wednesday, March 15, 2023

स्ववियु निर्वाचन: रिजन प्रधानको नेतृत्वमा “स्वतन्त्र’ विद्यार्थी संगठित

 नुवाकोट, ३० फागुन । 

नुवाकोटको सवैभन्दा पूरानो र धेरै विद्यार्थी रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमय भएको छ । चैत्र ५ गते हुन गईरहेको  स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीहरुले बट्टारका रिजन प्रधानको नेतृत्वमा उमेदवारी दर्ता गरेको छ । ‘नियमित विद्यार्थीको सर्वसम्मत दावेदारी, पर्यटक उमेदवार विरुद्ध हाम्रो उमेदवारी‘ भन्ने नारा लिएर स्वतन्त्र विद्यार्थीहरु निर्वाचनमा होमिएका छन् । स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सचिवमा देवाशिष ढकाल, कोषाध्यक्षमा प्रशान्त भट्ट, सदस्यमा गोकर्ण भट्ट (सविन) र निरुता गजुरेल रहेका छन् । 

करिव १४ वर्षपछि यस क्याम्पस सहित देशैभरका क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । स्ववियु निर्वाचनमा पहिलो पटक प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचन हुँदैछ । नुवाकोट क्याम्पसमा कुल एक हजार एकसय ४३ जना विद्यार्थी मतदाता रहेका छन् ।

यसैविच, क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमवार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो ।  फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । 

अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ ।  यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । 


No comments:

Post a Comment