Sunday, February 5, 2023

म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि

नुवाकोट, २२ माघ । 

‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । शनिवार भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाउँपालिकाले हराएको हो । 

प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा प्रथम भएको म्यागङले रू एक लाख ५० हजार, दोस्रो भएको तादीले रू एक लाख र तेस्रो भएको पञ्चकन्याले रू ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गरे । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योति माध्यमिक विद्यालय खरानीटारको खेलमैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश सांसद रमेशकुमार महतले खेलकुदमा हुने सहभागिताले युवा पुस्तामा अनुसाशन र लगनशिलता बढ्ने भएकोले खेल क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिता आवस्यक रहेको वताए । 

खेलमार्फत् विकास, अनुशासन र गतिशीलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरूमा थप निरन्तरता दिँदै महिला र पुरुष दुवैको सहभागिता गराउने आयोजक तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले बताए । यही माघ १८ देखि सुरु भएको प्रतियोगितामा जिल्लाको १२ पालिकाबाट १३ समूहको सहभागिता थियो ।


No comments:

Post a Comment