Tuesday, February 14, 2023

के आज प्रेम दिवस हो ?

मेरा केहि शिक्षक मित्रहरुको अनुभवमा माघको अन्तिम साता र फागुन पहिलो साता विद्यालय र कलेजमा विद्यार्थीको नियमित उपस्थिती बढ्न थालेको छ । विद्यालय र कलेजमा नियमित नआउने विद्यार्थीपनि यो समय नियमित आउँछन त्यो पनि छुट्टै स्फुर्तिका साथ । प्रेम दिवसको रुपमा मनाईन थालिएको भ्यालेन्टाइन्स डे यसको कारक बनेको छ । नेपाली समाजमा पनि फेब्रुअरी १४ अर्थात आजको दिनलाई ‘प्रेम दिवस’को रुपमा मनाउने ‘फेसन’ चलेको छ । युवापुस्ता र  ‘टिनएजर्स’मा यो दिवस लोकप्रिय बन्न थालेको छ । विभिन्न दिवसका रुपमा एकसाता अघिदेखि नै यो दिवस मनाउने प्रचलन बढ्दै गएको छ । बिदेशी संस्कृतको नक्कल गरिदएको यो दिवस के साँच्चै प्रेम दिवस हो त ?

 सन् २६९ मा आजकै दिन (फेब्रुअरी १४) मा रोमन क्याथोलिक चर्चका सन्त भ्यालेन्टाइनको हत्या भएको थियो । रोम सम्राट् क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम र विवाहका लागि बन्देज लगाएका थिए । तर त्यसलाई उल्लंघन गर्दै भ्यालेन्टाइनले प्रेममा परेका जोडीको बिहे गराइदिएका थिए । जसका कारण भ्यालेन्टाइनलाई ‘प्रेमीहरूका सन्त’ का रूपमा चिनिने गरिएको थियो । सम्राट्को आदेश उल्लंघन गरेको थाहा पाएलगत्तै उनी पक्राउ परेका थिए । त्यसपछि भ्यालेन्टाइनलाई जेल सजाय र चरम यातना दिइएको थियो । पछि क्लाउडियसले उनको हत्या गरेका बताइन्छ । त्यसताका इटालीको टेर्नी सहरका विसफ रहेका भ्यालेन्टाइन रोमको बाहिरी क्षेत्रमा मारिएका थिए । सन् ४९६ मा उनलाई पोप गेलासियस प्रथमले उनका सत्कार्यहरू ‘भगवान्ले स्वीकार गरेका’ भन्दै सहिद घोषणा गरेका थिए । त्यसयता फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे (प्रेम दिवस) का रूपमा मनाउन थालिएको हो । जुन १४ शताब्दीदेखि विश्वव्यापी बनेको हो । तर, कतिपय नेपाली किशोरकिशोरीहरु भ्यालेन्टाईन भनेको मानिसको नाम हो भन्ने समेत थाहा नपाई यो दिवस मनाईरहेका छन् । भ्यालेन्टाईनको अर्थ उनीहरुका लागि ‘प्रेम’ को रुपमा रहेको छ । 

प्रेम र गुलाफको रङ

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो । पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

गुलाफको फूल आयातमा रोक

प्रत्येक वर्ष भ्यालेन्टाइन्स डेको नाममा करोडौ रुपैयाँको गुलाफ आयात भएपछि सरकारले यसवर्ष गुलाफको फूल आयात रोकेको छ । ‘प्रणय दिवस’ मनाउन हरेक वर्ष यो अवधिमा करोडौँ रुपैयाँको गुलाफको फूल आयात हुने गरेको थियो । स्वदेशमै गुलाफ उत्पादन गर्ने किसानहरूले भने सरकारसँग आयात रोक्न माग गर्दै आएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो । केन्द्रकी प्रमुख साबित्री बरालले देशभरका विभिन्न १५ वटा क्यारेन्टाइन कार्यालयहरूलाई आज पत्र पठाई यस्तो निर्देशन दिएकी हुन् । काँकडभिट्ट, भन्टाबारी, विराटनगर, मलंगवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थांग र बैतडी क्वारेन्टाइन कार्यालयलाई त्यस्तो निर्देशन दिइएको हो । ‘उपरोक्त सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयात गर्नका लागि आयात अनुमतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ ।

दिवस मनाउनु कति सान्दर्भिक

प्रेम गर्नका लागि दिवस कुरिराख्नुपर्दैन । न त प्रेम प्रस्ताव राख्नका लागि नै । कपिय किशोरकिशोरीमा आजको दिन प्रेम प्रस्ताव राख्ने सोच हुन्छ । प्रस्ताव राख्न नसकेमा वा राखिएको प्रस्ताव अस्विकार भएमा आफूलाई कमजोर सोच्ने उनीहरुको उमेरको समस्या हो । नेपाली समाजमा अहिले पनि प्रेम विवाहलाई सहजै रुचाईदैन । जातीय, वर्गिय, धार्मिक, साँस्कृतिक रुपमा अत्यन्तै विविधता रहेको समाजमा प्रेम सहजै स्विकार नहुनु यहाँको सामाजिक विशेषता नै हो । अर्कोतर्फ पश्चिमा देशहरुमा जस्तो कम्तिमा १८ वर्ष उमेर पूरा नभई प्रेम र वैवाहिक जीवनको वारेमा सोच्नु आवस्यक छैन भन्ने हाम्रो समाजका किशोरकिशोरीमा ज्ञान नभएकोले पनि यहाँ यो दिवसको औचित्य छैन । पश्चिमा देशहरुमा १८ वर्ष उमेर पूरा भएपछि युवायुवतीले आफ्नो भावी जीवनको बारेमा सोच्न सक्छन भनेर विवाह लगायतका व्यक्तिगत निर्णयलाई अभिभावकले बन्देज लगाएको पाईदैन । नेपाली समाजमा जस्तो संयुक्त परिवारको सस्कृती नभएकोले त्यहाँ त्यो सम्भव छ । हाम्रो समाजमा रहेको संयुक्त परिवारको संस्कार, रोजगारीको अभावमा पैत्रिक सम्पतीमै निर्भर रहनुपर्ने बाध्यता लगायतका कारण १८ वर्ष पूरा भएका युवायुवतीले पनि आफ्ना ब्यक्तिगत जीवनका निर्णय परिवार र समाजको चाहना बिपरित गर्न नसक्ने यथार्थता हाम्रा सामु छन् । त्यसैले आजको दिनलाई ‘प्रेम दिवस’को रुपमा मनाई यसलाई संस्थागत गर्नु नेपाली समाजका लागि सान्दर्भिक देखिदैन । 


No comments:

Post a Comment