Friday, February 10, 2023

सातौ नुवाकोट महोत्सव शुरु

नुवाकोट, २८ माघ । 

नुवाकोटको विदुरमा सातौं नुवाकोट महोत्सव शुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा विदुर ५ पिपलटारमा  आयोजित महोत्सवको शुक्रवार पुर्वमन्त्री एवं नुवाकोटबाट निर्वाचित संघिय सांसद अर्जुन नरसिंह केसीले उद्घाटन गरेका छन् । 

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दे सांसद केसीले जिल्लाको कृषि तथा स्थानीय उत्पादनको वजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । महोत्सवले जिल्लाको आर्थिक विकासका संभावनाहरुको पहिचान गर्दे स्थानीय उत्पादनेको वजार प्रवद्र्धनमा केन्द्रित रहनुपर्ने नेता केसीको भनाई छ । 

महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश सांसद रमेशकुमार महतले कृषि उत्पादनको दृष्टिकोणले नुवाकोट आत्मनिर्भर मात्र नभई राजधानी लगायत देशैभर आपुर्ति गर्न सक्षम रहेकोले त्यसलाई थप ब्यवसायिक बनाउन आवस्यक रहेकोमा जोड दिए ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, उपाध्यक्ष दीनेश श्रेष्ठ लगायतले नुवाकोटमा कृषि तथा औद्योगिक विकासका प्रसस्त सम्भावना रहेको बताए । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठाकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाली कांग्रेसका कार्यवाहक सभापति राजु थापा, नेकपा एमालेका नेता सञ्जिव श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता पुष्प, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष रामेश्वर गजुरेल, राप्रपाका जिल्ला अध्यक्ष कुलवहादुर खड्गी  लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवलाई समग्र जिल्लावासीको उत्सवको रुपमा सम्पन्न गरिने बताए । विगतमा भन्दा यस पटकको महोत्सवमा आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणलाई विशेष जोड दिईएको कार्कीले वताए । 

महोत्सवमा स्थानीय लघु तथा घरेलु उद्योग र कृषि उत्पादन सहितका ३०० वटा ब्यापारिक स्टल राखिएको छ । महोत्सवमा २० करोड रुपैयाँ बराबरको ब्यापारिक कारोवार भई २० लाख रुपैयाँ वचत गर्ने लक्ष्य संघले राखेको छ । महोत्सव उद्घाटन कार्यक्रममा जिल्लाका कुमाल, तामाङ, नेवार लगायत समुदायले आफ्नो कला र संस्कृती झल्कने झाँकी प्रस्तुत गरेका थिए । फागुन १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने जनाईएको छ ।

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई निःशुल्क गरिएको छ । महोत्सवको आयोजक जिल्लाका १२ वटै पालिका, जिल्ला समन्वय समिति रहेका छन् । यसअघि उद्योग वाणिज्य संघले २०६३, २०६६, २०७०, २०७३, २०७४ र २०७६ मा महोत्सव सम्पन्न गरिसकेको छ । विगटमा बट्टार र विदुरमा आयोजना भईरहेको महोत्सव पहिलो पटक विदुर ५ पिपलटारमा हुन भएको हो । 


No comments:

Post a Comment