Sunday, January 8, 2023

एकिकरण पदयात्रा नुवाकोटबाट काठमाण्डौं तर्फ

नुवाकोट, २५ पुस । 

नेपाली सेना एकीकरण दीपज्योतिसहित सातदिने एकीकरण मार्ग पदयात्राको चौथो दिन आइतबार पुरानो सदरमुकाम नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान गरेको छ । आइतबार साँझ चतुराले, सोमबार ककनी हुँदै मंगलबार नुवाकोट र काठमाडौंको सिमानाको कालीध्वज गणलाई दीपज्योति हस्तान्तरण गर्ने कार्यतालिका छ । पदयात्रा यही पुस २७ गते जंगीअड्डामा आयोजना हुने ३०१ औं पृथ्वी जयन्तीको विशेष समारोहबीच समापन गर्ने कार्यक्रम छ ।

विदुर नगरपालिका–२ स्थित नुवाकोट पुरानो सदरमुकाम साततले दरबार नजिकै रहेको भैरवी मन्दिरको प्रांगणमा विदुर नगरपालिका–२ ले स्वागत कार्यक्रम राखेको थियो । स्वागत कार्यक्रममा नेपाली सेनाको ६ नं. बाहिनीपति सहायक रथी रामचन्द्र अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रमुख सेनानी अरुण कार्की, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी विदुर २ का वडा अध्यक्ष दिपक कायस्थ लगाएत विदुर नगरपालिकाका १३ वटै वडाका अध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका अधिकारीहरु, सरकारी कर्मचारी लगायत स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो । 

पदयात्रामा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेका पोसाक, हातहतियारबाट सुसज्जित भई नेपालको झन्डासहित त्यस बेलाका ५ वटा पल्टन र एकीकरण दीपज्योति साथ लिई प्रदर्शन गरेको थियो । सेनाको टोलीलाई स्थानीय, जनप्रतिनिधि, पूर्वसैनिक, राष्ट्रिय सेवा दलका क्याडेट, बुद्धिजीवीले स्वागत गरेका थिए । साथै नुवाकोटमा ६ नम्बर बाहिनीपति र जबरजंग गणका गणपतिको पनि उपस्थिति थियो । ३०१ औंं पृथ्वी जयन्तीको अवसरमा चार वर्षदेखि नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्दै आएको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाद्वारा विजय अभियानका लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण दीपज्योतिसहित पदयात्रा गर्दै आएको हो । यही पुस २१ गतेबाट गोरखाबाट सुरु भएको यस पटकको पदयात्रा आइतबार बिहान नुवाकोट आइपुगेको छ । ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा–काठमाडौँ पदयात्रा सुरु गरेको हो । बिहिबार बिहान गोरखा दरबारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी छ ।   नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो। यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छ ।  

गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एबता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिए । राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर पूmलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट पदयात्रामा निस्किएका हुन् । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली बिहिबार बेलुकी पुगेको थियो । पृथ्वीनारायण शाहकालिन सेना (गुरुज्यूको पल्टन)को पोशाकमा र राष्ट्रिय झण्डा र सेनाको आफ्नै झण्डासहित टर्च लाईट बोकेर बाजागाजा सहित टोली यात्रामा सहभागी भएको थियो ।  गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेंसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गरेको हो । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौँ पुग्ने गरी यात्रा तय भएको गणपति बिष्टले बताए । नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले विगत चार बर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ । अहिले चौथो पटक सेनाले औपचारिक कार्यक्रममार्फत पदयात्रा गरेको हो ।  पदयात्रा सुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापती उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व आज जति छ भोलि पनि त्यती नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए । गोरखा देखि जितगढी सम्मको पदयात्राका लागि पनि सेनाले तयारी गरिरहेको बताउँदै २०८० वैशाखमा उक्त रुटमा पदयात्राको तयारी रहेको उनले बताए । 

नेपाली सेनालाई राष्ट्रिय एकता कायम गर्ने गहन जिम्मेवारी समेत रहेको बताउँदै उनले अहिले पनि राष्ट्रिय एकताको महशुस गरिएको बताए।  विभिन्न किल्ला, कोट, गढी, दरबारको संरक्षण र बिर पुर्खाको योगदानको कदरका लागि पनि सेनाले विभिन्न कार्य गर्दै आएको पश्चिम पृतनापती बानियाँले बताए । यसका लागि सेना, विभिन्न तहका सरकार, संघ संस्था र सर्वसाधारण बीच सहकार्य जरुरी भएको उनले बताए।  इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्णराना मगरले बताए । साथै उनले पर्यटन प्रर्वद्धनका लागि गोरखाले ठूलो फाइदा लिन सक्ने बताए। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेनाले सुरु गरेको इतिहासको जर्गेना गर्ने काममा सबैले साथ सहयोग गर्नुपर्ने बताए । इतिहासको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनसके यसबाट गोरखाले धेरै फाइदा लिन सक्ने उनले बताए ।  


No comments:

Post a Comment