Wednesday, January 25, 2023

आफैँलाई आगो लगाएका आचार्यको निधन

 नुवाकोट, ११ माघ । 

संसद् भवनअगाडिको सडकमा मंगलबार आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको हो । 

मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए । 

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए । 

आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए । ुबिहान ५ बजे उहाँको निधन भयोु, अस्पतालका एक चिकित्सकले भने । 

आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्कर उल्लेख गरेका छन् । उनले आत्मवृतान्त लेख्दै गर्दा अस्तव्यस्त मुलुकमा एउटा व्यवसायीले भोगेको पीडा बाहिर आएको छ । ३६ वर्ष पार गर्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको र देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चोटहरू उनले आत्मवृतान्तमा उतारेका छन् ।

No comments:

Post a Comment