Thursday, January 19, 2023

सडक दुर्घटनामा दैनिक ६ जना भन्दा बढिको जान्छ ज्यान

 नुवाकोट, माघ ५ ।

केहि महिना अघि नुवाकोटको रातमाटेमा भएको
सडक दुर्घटना । 

नेपालमा हवाई दुर्घटनालाई मात्र बढि चासो दिने गरिएको पाईन्छ । दैनिक हुने सडक दुर्घटना र त्यसबाट भएका मानवीय क्षती तर्फ भने राज्यको ध्यान गएको खासै पाईदैन। 

आईतवार हवाई दुर्घटनासँगै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको पोखरा यात्रा, सोमबारको सार्वजनिक बिदा जस्ता घटनाक्रमले राज्य हवाई दुर्घटना प्रति ‘संवेदनशिल’ रहेको देखिन्छ । तर, दैनिकजसो हुने सानाठूला सवारी दुर्घटना प्रति भने राज्य बेखवर जस्तै छ। हामीले प्रहरी मुख्यालय लगायत दुर्घटनाका तथ्याङ्क हुने सरकारी कार्यालयमा खोजी गर्दा नेपालमा सडक दुर्घटना र मृत्यु हुनेको संख्या कहाली लाग्दो नै छ । प्रहरी मुख्यालयमा प्राप्त विवरण अनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ । यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।यसमा ३८ हजार ७४६ गम्भीर घाइते भए भने ९६ हजार ४२९ जना मानिस साधारण घाइते बनेका थिए । सडक दुर्घटनामा मानिसका अलावा ७१० पशुचौपाया मारिएका छन् भने २६८ पशुचौपाया घाइते भएका छन् । समग्र दुर्घटनाको मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ । दुर्घटनाका विवरण केलाउँदा सबैभन्दा जोखिममा मोटरसाइकल र जीप तथा कार भ्यान देखिएका छन् । बितेको ८ वर्षमा नेपालभर ७२ हजार ७२६ वटा दुर्घटनामा मोटरसाइकल परेका छन् । यस्तै दोस्रो ठूलो जोखिममा कार र जीप छन् । यस अवधिमा ४२ हजार ७१७ वटा कार जीप दुर्घटनामा परेका छन् । बस र माइक्रो भन्दा बढी दुर्घटना गराउनेमा ट्रक र टिप्पर छन् । 

१७ हजार १५९ वटा ट्रक र टिप्पर दुर्घटना हुँदा बस दुर्घटनाको संख्या १५ हजार ९२१ मात्रै छ । यसमा पनि पछिल्लो ४ वर्षमा २२ सय ७२ वटा दुर्घटनामा टिप्पर संलग्न छ । पछिल्लो तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु र घाइते हुनेहरूमा पुरुषको संख्या उच्च छ । आठ वर्षको कुल मृतकको तथ्याङ्कमा १४ हजार ४६२ जना पुरुष र ३ हजार ६८ जना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक हजार ८२८ जना बालबालिकाको मृत्यु भएको छ । जसमा १२ सय १६ जना बालक र ६१२ जना बालिका छन् । 

यस्तै दुर्घटनामा गम्भीर, साधारण घाइते हुनेहरूमा पनि पुरुषको संख्या उच्च पाइन्छ । यस अवधिको दुर्घटनामा परेर गम्भीर घाइते बनेका ३८ हजार ७४६ जनामध्ये २७ हजार ४१५ जना पुरुष, ७ हजार २४८ महिला र ४ हजार ९० जना बालबालिका छन् । साधारण घाइते हुनेहरू कुल ९६ हजार ४२९ मध्ये ६५ हजार २०२ जना पुरुष छन् भने २२ हजार २८४ जना महिला । यस्तै ८ हजार ९४३ जना बालबालिका छन् ।

नेपालीले २०५० को दशकपछि लगातार ठूला र कहालीलाग्दा ३ वटा घटना भोगे । २०५१ सालमा सुरु भएको माओवादी हिंसात्मक विद्रोह, २०७२ सालको महाभूकम्प र २०६७ मा सुरु भएको कोभिड महामारी । तीनै घटनामा परी ज्यान गुमाउने संख्या क्रमशः १७ हजार, ८ हजार र ११ हजार हाराहारी थियो । तर, २०७० को दशकको ८ वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजारभन्दा बढी छ । 

दुर्घटनामा परेर जीवनचक्र नै बिग्रेकाहरूको संख्या लाखमा छ । तर, सरकारले यसका लागि ठोस कदम चालेको छैन । नेपालको दिगो विकास लक्ष्यले दुई वर्षभित्र नेपालले सडक दुर्घटनामा परी मृत्यु र घाइते हुनेको 

संख्या आधा घटाउने घोषणा गरेको दुई वर्षपछि दुर्घटना, मृतक र घाइतेको संख्या झनै बढेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले तीन वर्षअघि गरेकोे अध्ययनमा पनि सडक दुर्घटना न्यूनीकरणमा सरकारले खासै चासो नदिएको औंल्याएको थियो । 

गणेशकुमार पहाडी संयोजक रहेको उक्त उपसमितिले सडक दुर्घटनाका कारण दैनिक औसत ८ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सडक दुर्घटना न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने भन्दै उक्त प्रतिवेदनले सरकारलाई प्रतिवेदन बुझाएको छ । 

यान्त्रिक कारणबाट हुने दुर्घटना टार्न २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउन, चालकलाई यान्त्रिक ज्ञान र सीप सिकाउन, निश्चित समयमै सवारी साधनको मर्मतसम्भार गर्न, स्थानीय तहमै सवारी साधनको परीक्षण गर्ने व्यवस्था गर्न सुझाएको थियो । यस्तै सडक पूर्वाधार सुधार गर्न, स्पष्टसँग सडक संकेत राख्न, सडकमा उच्च मात्रामा दुर्घटना न्यूनीकरणका प्रविधि परिचालन गर्न, तत्काल उपचारका लागि राजमार्ग केन्द्रित दुर्घटनाको छिटो उपचार हुने अस्पताल खोल्न पनि सुझाएको थियो । उपसमितिले सवारी चालक अनुमतिपत्र वितरणमा पनि प्रश्न उठाउँदै यसलाई सुरक्षित बनाउन निर्देशन दिएको थियो । साथै सडक सुरक्षालाई विद्यालय तहदेखि नै सुधारका लागि सिकाइको रूपमा अघि बढाउन पनि उपसमितिले सुझाव दिएको थियो ।

मादक पदार्थदेखि मोबाइल फोनको प्रयोगसम्म 

सडक सुरक्षा अनुसन्धाता उप–प्राध्यापक भगवती सेढाईं पछिल्लो दुई वर्ष सडक दुर्घटना झनै बढेको बताउँछिन् । विगतको तुलनामा सडकमा हुने दुर्घटना दोब्बर बढेको भन्दै सेढाईं भन्छिन्, ‘प्रहरीले प्राप्त गर्ने तत्कालको तथ्याङ्क भन्दा अस्पतालमा ज्यान जानेको संख्या थप ४० प्रतिशतले बढ्ने अध्ययनमा देखिएको छ ।’ उनी भन्छिन्, ‘सडक सुरक्षामा काम गर्नेहरूले गरिरहेको अध्ययनमा अस्पतालमा उपचारका क्रममा हुने मृत्युले अहिलेकै तथ्याङ्कमा साढे ७ हजार मृतक थपिने अवस्था छ ।’ सेढाईंका अनुसार सडक दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही, सडक पूर्वाधारमा खेलाँची र र दुर्घटना न्यूनीकरणका लागि पहल र लगानी नगर्नु नै हो । नेपालमा भएका सडक दुर्घटनामा खासै कारण खोजिन्न र खोजिएका कारणमा पनि शंका छ । सरकारसँग भएको तथ्याङ्क अनुसार सबैभन्दा ठूलो दुर्घटनाको कारण चालकको लापरबाही देखिन्छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई दुर्घटनाको प्रकृति अनुसार विवरण हेर्दा तीन कारणले दुर्घटना बढी हुने गरेका छन् । पहिलो चालकको लापरबाही, दोस्रो सडक पूर्वाधार र तस्रो यान्त्रिक कारण हो । आव २०७८÷७९ मा २४ हजार ५३७ वटा सडक दुर्घटना हुँदा चालकका कारण १४ हजार ५०२ वटा दुर्घटना भएका छन् । जसमा ११ हजार बढी दुर्घटना तीव्र गतिका छन् । यस्तै सवारी चालक चेकजाँच नगरिएको, चालक निदाएको, जथाभावी ढोका खोलेको, ट्राफिक नियम उल्लंघन गरेको, मादक पदार्थ सेवन गरेको, ओभरटेक गरेको र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेका कारण पनि दुर्घटना भएका छन् । ट्राफिक प्रहरीले मुख्यतः दुर्घटनाका कारणलाई ५ भागमा विभाजन गरेर व्याख्या गरेको छ । पहिलो चालकका कारण, दोस्रो सवारी साधनका कारण, तेस्रो यात्रुका कारण, चौथो सडकको पूर्वाधार र पाँचौं मौसमको कारण दुर्घटना हुने गरेका छन् । चालकका कारण हुने दुर्घटनामा नियम अवज्ञा, जथाभावी ढोका खुल्ला राख्नु, ओभरटेक, तीव्र गति, चालक निदाउनु, मादक पदार्थ सेवन गर्नु, मोबाइल चलाउनु हो । यस्तै सवारीका कारण हुने दुर्घटनामा यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् । कतिपय दुर्घटनाका कारण यात्रु स्वयम् छन् । जसमा उनीहरूले गर्ने व्यवहार मुख्यतः जिम्मेवार छ । जस्तै चढ्दा र ओर्लंदा ख्याल नगर्दा, झुण्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होश नपु¥याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडक लगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको छ ।


No comments:

Post a Comment