Friday, December 23, 2022

उत्तरगयामा श्राद्ध गर्नेको भिड

नुवाकोट, ८ पौष ।

नुवाकोट र रसुवाको सिमानामा पर्ने वेत्रावती स्थित उत्तरगयाधाममा शुक्रवार दिबङत पित्रीहरुको स्मृतिमा हजारौ हिन्दु धर्मावलम्बीले श्राद्व गरेका छ्न ।पौषे औंसीको दिन पारेर यहाँ तर्पन र पिण्डदान गरि श्राद्व गर्नेहरुको बिहानै देखि घुइँचो लागेको थियो ।

त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणी स्थल बेत्रावतीमा पौषे औँशीको दिन दिवंगत पितृहरूको स्मृतिमा जौ को पिण्ड दिदै तर्पण हुने गर्दछ ।उत्तरगयाधाममा हरेक बर्ष पौषे औंसीका दिन हजारौले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बालेका छन् ।

उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौष औशिका दिन पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ । देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा प्रहार गर्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनबिश्वास रहेको छ ।

आजैका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने गर्दछन् । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गया मध्ये एउटा गयाको रुपमा पिण्ड दान गर्ने चलन छ । श्राद्ध गर्नका लागि नुवाकोट सहित छिमेकी जिल्लाहरु धादिङ, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका देशका विभिन्न स्थानबाट मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।
हिन्दु धर्ममा पित्रीहरुको मृत्यु पश्चात् त्यही तिथिमा श्राद्व गर्ने परम्परा रहेपनि तिर्थमा भने जुनसुकै दिनमा श्राद्व गर्न सकिने धार्मिक मान्यता रहेको छ ।

No comments:

Post a Comment