Saturday, November 26, 2022

क्षेत्र नं १ को प्रदेशमा तामाङ निर्वाचित

नुवाकोट, १० मंसिर । 

क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राधिका तामाङ निर्वाचित भएकी छिन् । वागमती प्रदेशको निवर्तमान उपसभामुख तामाङ १६ हजार एक सय ६९ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका सुशील कुमार खड्काले ११ हजार तीन सय ५० मत प्राप्त गरे ।  माओवादी नेतृ तामाङ ०७४ मा पनि यही क्षेत्रबाट माओवादी एमाले गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।

को हुन् राधिका तामाङ ?

राधिका तामाङ नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–३ (साविक  लिखु गाविस–४) पोखरेमा वि.सं. २०४० साउन १७ गते जन्मिएकी थिइन् । बुवा शेरबहादुर र आमा राम्री तामाङको ३ छोरीमध्ये कान्छी छोरी हुन् राधिका । १५  वर्षको उमेरमा संगठित भएर राजनीतिक यात्रा शुरु गरेकी उनी माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताको शुरुमा सामेल भइन् । ९ कक्षा पढ्दै गर्दा २०५७ मा भूमिगत भएर माओवादी जनयुद्धमा लागेकी उनी पार्टीको सैन्य संगठन जनमिलिसिया, पार्टी कमिटी इलाका सदस्य, जिल्ला कमिटी सदस्य, जनसरकार प्रमुख, राज्य समिति सदस्य हुँदै केन्द्रीय सदस्य बनेकी छिन् । निवर्तमान प्रदेश उपसभामुख तामाङले २०७० सालको संविधान सभा निर्वाचनबाट संविधान सभा सदस्य र २०७३ साउन २९ देखि २०७४ जेठ २४ सम्म प्रचण्ड नेतृत्वको सरकारमा कृषि राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेकी तामाङ २०७४ को निर्वाचनबाट प्रदेश सभा सदस्यमा नुवाकोट १(१) बाटै निर्वाचित भइन् र बागमती प्रदेश सभाको उपसभामुखको भूमिका कुशलतापूर्वक पूरा गरेकी थिइन् ।


No comments:

Post a Comment