Tuesday, September 6, 2022

माओवादीसँग पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे

नुवाकोट, भाद्र २१ गते । 

 स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ९नेकपा एस०ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन्। एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई माओवादीमा मिलाउन लागेपछि एमालेमै फर्कन लागेका हुन्।  मंसिर ४ गते संघीय संसदको निर्वाचनमा देशव्यापी रूपमा उम्मेदवार उठाउनुपर्ने माग गरिरहेका नेता कार्यकर्ताहले गठबन्धन दलबाट कम सिट पाउने र धेरै सिटमा अन्य दललाई सघाउनुपर्ने अवस्था आएपछि एसभित्र असन्तुष्टि बढेको थियो। सोही क्रममा एमालेबाटै विद्रोह गरेर माधव नेपाललाई साथ दिएका नेताहरू पुनः एमालेमा फर्कन थालेका छन्।  

सोमबार गुल्मी एसका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जलगायतका नेता एमालेमा फर्किएका छन्। उनीहरूले पनि पार्टीको संगठन विस्तार गर्नुको साटो अन्य पार्टीमा लगेर मिसाउन लागेको र संगठन विस्तारमा नलागी कसलाई हराउने कसलाई जिताउने भन्ने व्यक्तिगत स्वार्थमा लागेपछि पार्टी छोड्नु परेको बताए। गठबन्धन पार्टीहरूबीच सिट संख्यामा कुरा नमिलेकै अवस्थामा एस पार्टीका नेताहरू एमालेतिर फर्केका छन्। माओवादीले नेकपा एसलाई गठबन्धनभित्र निकै कम सिट दिनुपर्ने भनिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरू एमालेमा फर्केपछि गठबन्धनले एस पार्टीलाई भाग लगाउने सिटको संख्या अझ कम हुने अवस्था देखिएको छ। एस पार्टीकै अध्यक्ष नेपालले कांग्रेस र माओवादी मिलेर कमजोर आँकेको भन्दै गुनासो गरेका थिए। त्यसक्रममा नेपालले प्रतिनिधीसभातर्फ एस पार्टीले ४० सिट दाबी गरेका थिए। तर एसलाई १७वा १८ सिट मात्रै दिनेगरी बाँडफाँटको प्रक्रिया अघि बढाउँदा नेपालले असन्तुष्टि प्रकट गरेका थिए। एसका नेताहरूले कम्तीमा २४ सिट पाउनु पर्ने माग गरिरहँदा उनीहरूको नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेको हो। कांग्रेसलाई ७० सिट दिनुपर्ने सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका माधव नेपालले गठबन्धन दलहरूलाई होच्याउने, हेप्ने गरेमा भने नेकपा एकीकृत समाजवादी आवश्यक परे एक्लै चुनावमा जान सक्ने बताइरहेका छन्। पार्टी केन्द्रीय सचिवसमेत रहेकी र आगामी चुनाव गुल्मीबाटै लड्ने तयारी गरिरहेकी रामकुमारी झाँक्रीलाई गृह जिल्लामा धक्का लागेको छ। सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूलाई पार्टीमै फर्काएका थिए। यसरी एमालेमै फर्किनेमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता छन्। कार्यक्रममा नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने भन्दै भाषणसमेत गरेका थिए।  

केही दिन अघि एस पार्टीका सर्लाही जिल्ला अध्यक्षबाहेक सिंगो सर्लाही जिल्ला कमिटी नै एमालेमै समाहित भएको थियो। सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन्।  नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा फर्किएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री समेत रहेका कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, पोलिटब्यूरो सदस्य एवम् प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरूले पनि माधव नेपालको साथ छोडेर पुरानै पार्टीमा फर्केका थिए। गत हप्ता एमाले अध्यक्ष ओली आफै कञ्चनपुर पुगेर उनीहरूलाई पार्टीमा ल्याएका थिए। त्यसअघि कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाहीलाई पनि ओलीले भक्तपुरको बालकोट स्थित आफ्नै निवासमा एमालेमा स्वागत गरेका थिए। डोल्पाका नेता शाहीसँगै किसान महासंघका कोषाध्यक्ष जीवनबहादुर शाहीलगायतका नेता कार्यकर्तालाई ओलीले एमालेमा ल्याएका थिए। एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले केही साथीहरू जानु भएको हो उहाँहरूलाई पार्टीले कारवाही गरिरहेको बताए। ‘पार्टीले कारबाही गरेका व्यक्ति जानु भएको हो अन्य साथीहरू पार्टीहरू मै प्रतिबद्ध हुनुहुन्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।  

नेकपा एसका नेताहरूले माओवादी केन्द्रसँग तत्काल एकीकरण नगर्न आग्रह गर्दै आएका छन्। माओवादीहरूले आफ्नो स्वार्थ अनुकूल पार्टी एकता गर्ने स्वार्थ मिलेपछि पेल्न अवस्था रहेका कारण एसका नेताहरू माओवादीसँग पार्टी एकता गर्न डराइरहेका छन्। पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल नै माओवादी केन्द्रसँग चुनावी सहकार्य मात्रै गर्ने पार्टी एकता गर्न नहुने पक्षमा रहेका छन्। उनले माओवादीभन्दा एमालेसँगै सहकार्य गर्न दबाब दिइरहेका छन्। खनालले स्थानीय तहको निर्वाचनको बेला आफ्नो जिल्लमा एमालेसँगै सहकार्य गरेका थिए। सोही सहकार्यपछि एमालेले इलाममा खनाललाई नरमनीति लिएको स्रोतको दावी छ। खनाल निकट रहेका नेता कार्यकर्ताले माओवादीसँगको एकता भन्दा यही पार्टी बनाएर जानु पर्ने वा विचार र सिद्धान्त मिल्ने एमालेसँगै सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्।

No comments:

Post a Comment