Friday, September 30, 2022

पर्यटन ब्यवसायी पाण्डेले गरे ‘घण्टी बजाएर’ उमेदवारी घोषणा

नुवाकोट, १४ असोज

वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले आगामी प्रतिनिधिसभा चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव चिन्ह ‘घण्टी’ रहने गरी उमेदवारी घोषणा गरेका हुन् । पाण्डेले विहिवार एक कार्यक्रमका बिच नुवाकोटको प्रसिद्ध धार्मिकस्थल भैरवी देवी मन्दिरमा दरबारक्षेत्रका स्थानीयलाई साक्षी राख्दै ३० सेकेण्ड घण्टी बजाएर आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

नुवाकोटमा जन्मेर पर्यटनसंगै समाजसेवालाई आफ्नो मुख्य कर्म ठानेर निरन्तर खट्दै आएका पाण्डे नेपालकै अग्रणी पर्यटन ब्यवसायीमा गनिन्छन् । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर–समिट एयर, डाइरेक्टर–अलफ्ट काठमाण्डौ होटल, डाइरेक्टर– छायाँ सेन्टर प्रालिका रुपमा समेत कार्यरत पाण्डेले यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल (TAAN) को अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपाल (AOAN)को महासचिव, कार्यकारी सदस्य– नेपाल पर्यटन वोर्ड, कार्यकारी सदस्य– नेपाल पर्यटन बर्ष – २०११ मा कार्यरत रहनुका साथै Tourism man of the year 2011∕2017, Lifetime Achievement in Tourism Award -2015  जस्ता सम्मान पाण्डेले प्राप्त गरेका छन् । नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तार, सन् २०१५ को महा–भुकम्प पश्चात “संकट ब्यवस्थापन तथा पर्यटन पुनःउत्थान कार्यक्रमको तर्जुमा”, प्रथम “हिमालयन ट्राभल मार्ट–२०१७” मा विशेष भुमिका निर्वाह गरेका पाण्डेद्धारा प्रबर्धित स्काई डाईभिङ्ग तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको क्याविनेट बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणिय बिषयहरु पर्दछन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा पाण्डेले आफ्ना व्यापार तथा व्यसायहरुमा आफ्नै जिल्ला तथा क्षेत्रका जनताहरुलाई विशेष प्राथमिकताका साथ रोजगारी दिँदै आएको र आगामी दिनहरुमा समेत यस कार्यलाई उच्च प्राथमिकता दिने बताए । देशभर स्वतन्त्र उमेदवारको लहर चलिरहेको समयमा पाण्डेको उमेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


No comments:

Post a Comment