Thursday, September 22, 2022

सडक दुर्घटनामा १३ जनाको मृत्यु

नुवाकोट, ६ असोज । 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

यसैविच, रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुमकोट  जाँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । 

मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उहाँले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताउनुभयो । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाउनुभयो । उहाँका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । 

धादिङको गजुरी–१, गजुरी बजारमा बसको ठक्करबाट पैदल हिँडिरहेका विद्यार्थीको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । बिहीबार बिहान विद्यालय जाने क्रममा सडक पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो । स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए ।

No comments:

Post a Comment