Tuesday, September 13, 2022

तामाङ र नेपालभाषालाई कामकाजको भाषा बनाउने वाग्मती सरकारको निर्णय

नुवाकोट, भाद्र २८ गते । 

वाग्मती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङ र नेपालभाषा(नेवार)लाई पनि कामकाजको भाषा बनाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले सर्भर डाउन भएर रोकिएको भुक्तानी प्रक्रिया पुर्‍याएर गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्री खनालले बैठकले प्रदेश औद्योगिक नियामावली स्वीकृत गरेको बताए ।

२ वटा अध्यादेश जारी

त्यस्तै वाग्मती प्रदेश सरकारले पुनः दुईवटा अध्यादेश जारी गरेको छ । संसद् बन्द गरेर अध्यादेशबाटै शासन गर्ने मनसायले अघि बढिरहेको सरकारले पुनःदुईवटा अध्यादेश जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन(२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन(२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । संसद् अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ ।

No comments:

Post a Comment