Monday, August 1, 2022

काभ्रेस्थली घटना–एकै परिवारका चारजना मृत फेला, के छ सुसाईड नोटमा ?

नुवाकोट । १६ साउन ।

सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परे । तार्केश्वर नगरपालिका(२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको थियो । गोरखा भिमसेनथापा गाउँपालिका(६ अश्राङ स्थायी घर भई पदमशालमा एक तले घर बनाएर बसेका ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका हुन्। एकै परिवारका चारै जना मृत फेला परेपछि के कारणले र कसरी मृत्यु भयो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ। 

अनुसन्धानको लागि खटिएको प्रहरी स्रोतका अनुसार घटनास्थलबाट चार पानाको सुसाइड नोट पनि फेला पारेको छ। जसबाट उनीहरूले पछिल्लो समय झेलिरहेका तनावबारे केही कुरा खुल्नेछ ।  त्यही सुसाइड नोट अध्ययन गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ । प्रहरी स्रोतका अनुसार चार पाने नोटमा विवाहेत्तर सम्बन्ध र उनीहरू डिभोर्सको चरणसम्म पुगेको उल्लेख छ । दिनेशले लेखेकोजस्तो देखिने उक्त सुसाइड नोटमा श्रीमतीको अर्कै पुरूषसँगको अवैध सम्बन्धबारे उल्लेख गरिएको छ। यस्तै उनीहरूबीच डिभोर्स गर्ने र अंशबन्डा गर्ने समेत उल्लेख भएको स्रोतले बतायो । 

वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गीका अनुसार मृतक महिलाको बेलायतको भिसा समेत लागेको थियो। उनी एक महिनापछि बेलायत जाने तयारी गर्दै थिइन् । प्रहरी स्रोतका अनुसार बेलायत जानुअघि उनी श्रीमानसँग डिभोर्स गर्न चाहन्थिन्। अंशबण्डा गर्नका लागि उनीहरूले जग्गा बेच्न लागेका थिए। जसका लागि १० लाख रुपैयाँ बैना पनि लिइसकेका थिए । ‘अंशबण्डा गर्नको लागि जग्गाको १० लाख बैना लिइसकेका थिए। माइती पक्ष आएर अहिले बेला भएको छैन भनेर बैना पनि फिर्ता गरिसकेको रहेछ,’ स्रोतले भन्यो ।  दिनेश र सुनिताबीच यसअघि पनि झगडा भइरहने गरेको खुलेको छ। श्रीमतीसँगको झगडाकै कारण दिनेश दुई पटक प्रहरी हिरासतमा पुगेका थिए। 

उनलाई प्रहरी वृत्त बालाजुको हिरासतमा दुई पटकसम्म राखिसकेको स्रोतको दाबी छ ।  ‘श्रीमतीले आफ्नो माया नबुझेको। माया गर्दा पनि बेवास्ता गरेको, उपेक्षा गर्‍यो भन्ने कुराहरू छन्,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘बालाजुमा गएर पनि मेलमिलाप समेत गरेको देखियो।’ दिनेश यसअघि खाडी मुलुकमा केही समय काम गरेर फर्किएका थिए। उनको पदमशाल चोकमा मोबाइल पसलसमेत थियो । 

चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइसकेको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए । सोमबार बिहान करिब ९ बजेतिर एकतले घर भित्रबाट बन्द रहेको र आवाज नआएको भन्ने प्रहरीलाई खबर आएको थियो । 


तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार उनकी छोरी छाउनीस्थित सैनिक विद्यालयमा पढ्थिन्। स्कुल जानु पर्ने उनी घरबाट ननिस्किएपछि नजिकै बस्ने दिनेशका दाइ त्यहाँ हेर्न पुगेका थिए।


‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने।


त्यसपछि उनले प्रहरीलाई खबर गरेको हो। खबरसँगै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो।


पछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको थियो।


परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार घरका सबै झ्याल(ढोकाहरू भित्रैबाट चुकुल लगाइएको थियो।


अनुसन्धानको लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डाक्टर गोपाल चौधरी र डाक्टर आयुष उपाध्यायको टोली पनि घटनास्थल पुग्यो। 


सुनिता, छोरा र छोरीको शव एउटा कोठामा विभत्स अवस्थामा भेटिएको थियो भने दिनेश अर्को कोठामा मृत भेटिएका थिए। झ्यालमा झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेपनि उनको पेटमा पनि चक्कुको चोट देखिएको स्रोतले जनाएको छ। तर उनको मृत्यु कसरी भयो भन्नेबारे पोष्टमर्टम रिपोर्टबाट मात्रै थाहा हुने प्रहरीको भनाइ छ।


यस्तै घटनास्थलबाट प्रहरीले किचेनमा प्रयोग हुने चक्कु पनि बरामद गरेको छ। त्यही चक्कुको प्रयोग गरी श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्‍छ।


श्रीमतीको टाउकोमा र छोराछोरीको पेटमा चोट लागेको देखिएको प्रहरी स्रोतले जनाएको छ।


त्यसपछि भने श्रीमानले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment