Tuesday, August 23, 2022

बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’ मा बनाइने, ७ महिनामा सक्ने लक्ष्य

नुवाकोट, भदौ ७ गते । 

बालाजु–रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्नेगरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७.१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयूक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।

शैलुङ कन्स्ट्रक्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । ७ पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोड्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । फोहोर बोक्ने ट्रक जान पनि समस्या भएपछि चाँडो निर्माण सक्नेगरी मुड्खु–तीनपिप्ले खण्डको ५.५ किलोामिटरमा नयाँ ठेक्का गर्न लागिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘मुड्खुदेखि तीनपिप्लेसम्मको सडकमा समस्या छ, फोहोर बोकेर बन्चरेडाँडा जाने सडक पनि यहीं हो,’ महानिर्देशक थापाले भने, ‘यसलाई मुल ठेक्काबाट छुट्याएर छिटो विधिबाट काम गर्न मन्त्रिपरिषद्मा सहमतिका लागि पठाइएको थियो, त्यही अनुसार निर्णय भएको छ, एक÷दुई दिनभित्र यसको ठेक्का आह्वान हुने छ ।’ सोमबार बसेको मन्त्रिपरिषद्ले निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

‘स्थानीयको माग सडक चाँडो बन्नु प¥यो भन्ने छ, काठमाडौंको फोहोर लैजान पनि सडकले गर्दा समस्या भइरहेको छ,’ उनले भने, ‘त्यसैले बढीमा ७ महिनाभित्र यो खण्डको काम सक्नेगरी ठेक्का गरिने छ ।’ त्यसका लागि ७ दिनको म्याद दिएर ठेक्का निकालिने छ । लागत रकम करिब १६ करोड रुपैयाँ अनुमान छ । जुन खण्ड नेपाल सरकारबाटै बनाइने छ । ‘अरु खण्डको काम भारतीय एक्जिम बैंकको ऋणबाटै गरिने छ,’ उनले भने, ‘तीनपिप्ले–त्रिशुली खण्डलाई एउटै ठेक्का बनाएर काम गरिने छ ।’ यसअघि सडक स्तरोन्नतिको काम सरकारले भारतीय एक्जिम बैंकबाट ऋण लिएर गरेको हो ।

No comments:

Post a Comment