Friday, August 5, 2022

नेपालीले जापानमा रोजगार अनुमती पाउँदै

 काठमाडौँ, साउन २० गते । 


नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको जनाइएको छ । समितिको बैठकमा नेपाल पक्षको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो भने जापान टोलीको नेतृत्व सहायक उपमन्त्री चोसुमो नाकागावाले गर्नुभएको थियो । सो बैठकले नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने निर्णय गरेको छ । यसैगरी बैठकमा नेपालमा जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लू प्रणालीअन्तर्गत नेपालबाट श्रमिक उपलब्ध हुनसक्ने विषयको जानकारी रोजगारदातालाई गराउने विषयमा छलफल भएको जानकारी दिइयो । त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटोछरितो बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ । २०७५ चैत ११ गते (सन् २०१९ मार्च)मा एसएसडब्लू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी नेपाल र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । सो प्रणालीअन्तर्गत जापान सरकारले विदेशी श्रमिकले जापानमा गर्नुपर्ने काम कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन, निर्माण, नसिङ, केयरगिभर व्यवसायलगायत १४ वटा क्षेत्रभित्रका काममा जान पाउनेछन् ।नेपालका तर्फबाट संयुक्त समितिमा नेतृत्व गर्नुभएका श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले चार वर्षदेखि रोकिएको जापानको रोजगारी खुलाउने सहमति भएको जानकारी दिनुुभयो । “जापान जानका लागि प्राविधिक प्रक्रिया अझै बाँकी छ, त्यो काम छिट्टै गरेर अब एक महिनाभित्र भाषा र सीप परीक्षा उत्तीर्ण गरेकालाई जापान पठाउन सुरु गर्नेगरी काम गर्छौं,” उहाँले थप्नुभयो । सहसचिव पोखरेलले यसअघि दुई देशबीच भएको श्रम समझदारी अनुसार नै नेपाली श्रमिक जापान पठाइनेछ । उहाँका अनुसार जापान जानका लागि सीप र भाषा परीक्षा उत्तीर्ण गरेर वसेका पाँच हजार तीन सय युवा पहिलो चरणमा जान पाउनेछन् भने दोस्रो, तेस्रो चरणमा अन्य नयाँका लागि तालिम, सीप र भाषा परीक्षा सञ्चालन गरिनेछ । एसएसडब्लूअन्तर्गत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८८५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर यसअघि नै जापान गइसकेको मन्त्रालयले जनाएको छ । अब जाने श्रमिक संस्थागत वा व्यक्तिगत कुन मोडालिटीमा जान्छ भन्ने विषयमा अहिले नै टुङ्गो लागि नसकेको जानकारी दिँदै उहाँले श्रमिक पठाउने र लिने देशबीच मस्यौदा आदानप्रदान गर्दा त्यो विषयको टुङ्गो लाग्छ भन्नुभयो । जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी जापानले यो सुरु गरेको थियो । कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको पनि सहसचिव पोखरेलको भनाइ छ । जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी श्रमिक लैजाँदै आएको थियो । आव २०६४÷६५ सालदेखि नेपाली श्रमिक जापान जान सुरु भएको हो ।

मन्त्री कुँवरसँग भेटवार्ता 

म रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग जापानका सहायक उपमन्त्री चोतुमो नाकागावालगायतको टोलीले भेट गरेको छ । बैठकपछि मन्त्रालयमा भएको सो भेटमा भाषा परीक्षा उत्तीर्ण भएका र सीप सिकेर बसेका नेपालीलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ । भेटमा श्रममन्त्री कुँवरले पाँच हजार बढी नेपाली जापान जानका लागि तयारी अवस्थामा रहेका जानकारी दिनुभयो । उहाँले उपमन्त्री चोतुमोलाई नेपाली श्रमिकलाई जापान पठाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न अनुरोध गर्नुभयो ।  

No comments:

Post a Comment