Tuesday, August 16, 2022

सिट बाँडफाँटको खाका तयार गर्ने जिम्मा सिटौलालाई

काठमाडौँ, साउन ३१ गते । 

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी कार्यदलको बैठकले सिट बाँडफाँट आधारको खाका तयार गर्ने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ।  

आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको सिट व्यवस्था मिलाउन गठित सो कार्यदलको सोमबार बसेको तेस्रो बैठकले आगामी बैठकमा सो खाका पेस गर्ने जिम्मा सिटौलालाई दिएको हो। २०७४ सालको आमनिर्वाचनमा राजनीतिक दलहरूले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडातहमा पाएको मतको आधारलाई लिएर बाँडफाँटको खाका तयार गरिने छ। यसअघिका बैठकमा सिट बाँडफाँट गर्दा लिनुपर्ने आधारका सबै विकल्प खुला राख्नुपर्ने र सम्भावित सबै विकल्पमा छलफल अघि बढाउने सहमति भएको थियो। बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अघिल्लो आमनिर्वाचनमा प्राप्त मत र हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर सिट बाँडफाँट गरिने सहमति भएको बताउनुभयो। यसअघि नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्नुपर्नेमा जोड दिँदै आएको थियो भने अरू दलले गत आमनिर्वाचनमा प्राप्त मतलाई बेवास्ता गर्न नहुने अडान राख्दै आएका थिए।  

No comments:

Post a Comment