Wednesday, June 29, 2022

नुवाकोट साहित्य प्रतिष्ठानद्धारा साहित्यकारलाई सम्मान

नुवाकोट । १५ असार । 

नुवाकोटमा साहित्यकार सम्मान र पुस्तक विमोचन गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानको पन्ध्रौ बार्षिकोत्सवको अवसर पारेर असार १५ गते साहित्यिक कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठद्वारा लिखित इाइवुन संग्रह समयचक्रको विमोचन गरिएको छ ।  कार्यक्रममा प्रतिष्ठानले साहित्य क्षेत्रमा क्रियाशील सात स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले बुधबार विदुरमा आयोजित कार्यक्रममा ३ जनालाई सम्मान र ४ जनालाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका संस्थापक श्रीराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार महामण्डल साहित्य सम्मान विराटनरगका उमेश राई, धादिङकी अमृता स्मृति र कमलादेबी तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान लमजुङकी अन्जना पौडेललाई प्रदान गरिएको हो । यसैबीच २५ हजार राशीको नरेन्द्रनाथ वाङ्गमय स्नातकोत्तर विद्यार्थी पुरस्कार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उत्कृष्ट नम्बरसहित उत्तीर्ण १ जनालाई, १० हजार राशीको नरेन्द्र साहित्य सम्मान पुरस्कार बुनु लामिछानेलाई प्रदान गरिएको आयोजकले जनाएको छ। गत वर्षको एसईई परीक्षामा नुवाकोटबाट उत्कृष्ट अंकसहित उत्तिर्ण २ जनालाई ५ हजार राशीको नरेन्द्रनाथ प्रतिभा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।  

सम्मानित स्रष्टाहरुलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । उनले कला तथा साहित्य क्षेत्रले सत्मार्ग र संस्कारको विकास गर्ने बताए। डा. महतले देशको विकासमा साहित्यको पनि योगदान रहेको र यसको संरक्षणबाट देशको संस्कृति तथा पहिचानको संरक्षण भइरहेको स्पष्ट पारे । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले साहित्यको संरक्षण र विकासमा आफुहरु क्रियाशील रहने प्रतिबद्धता जनाए । 

कोरोना भाइरसको जोखिमको कारण विगत २ वर्षदेखि हुन नसकेको कार्यक्रम यस वर्ष गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा वरिष्ठ साहत्यिकार पुष्कर लोहनीलगायत ३० जनाभन्दा बढी श्रष्टाहरुले आ–आफ्ना कविता, गीत, हाइकु, गजललगायतका रचना प्रस्तुत गरेका थिए । 


No comments:

Post a Comment