Sunday, April 24, 2022

गठबन्धनमा अलमल, एमालेमा भटाभट

 नुवाकोट । ११ बैशाख 


नुवाकोटमा स्थानीय तहमा उमेदवार सिफारिस गर्न गठबन्धन अलमलमा छ । प्रतिपक्षी नेकपा एमालेले भने उमेदवार घोषणा गर्दै मत माग्न थालेको छ ।

१२ स्थानिय तह रहेको नुवाकोटमा एमालेले आफुले पहिले जितेका स्थानिय तहमा उमेदवार चयन गरेको हो । बाकीमा गठबन्धनको उमेदवार हेरेर घोषणा गर्ने एमालेको तयारी छ । 

नेकपा एमालेले नुवाकोटको विदुर नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ।  नेकपा एमालेले जिल्ला कमिटी नुवाकोटले सिफारिस गरेको आधारमा विदुरको मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पण्डित र पौडेल दुबै नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका सदस्य हुन । पण्डित २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विदुर नगरपालिकामा मेयरमा विजयी भएका थिए । समाजसेवा समेत सक्रिय पौडेल पनि पार्टी र अखिल नेपाल महिला संघमा क्रियाशिल नेतृ हुन ।

यस्तै,  बेलकोटगढी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा राजेन्द्ररमण खनाल उम्मेदवार हुने भएका छन । नेकपा एमाले नुवाकोटको सिफारिसका आधारमा पार्टीको प्रदेश कमिटीले खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै एमालेले बेलकोटगढी नगरपालिकको उपमेयरमा रूपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खनाल एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन भने सापकोटा बेलकोटगढी नगर कमिटीको अध्यक्ष हुन ।

खनाल र सापकोटा दुबै २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट उम्मेदवार रहेका थिए । मेयरमा खनाल विजयी भए पनि उपमेयरमा सापकोटा थोरै मतान्तरमा पराजित भएकी थिइन ।

नेकपा एमालेले नुवाकोटको तरकेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश वस्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वस्ती अहिले पनि तारकेश्वर गाउँपालिकाका अध्यक्ष हुन । अध्यक्षका लागि एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि दाबी गरेकी थिइन तर एमालेले जित्ने उम्मेदवारको रूपमा वस्तीलाइ अध्यक्षमा दोहोर्याउने निर्णय गरेको बताएको छ ।

गाउँवस्ती डुल्ने र जनताको घरघरमा पुग्ने नेताको रूपमा परिचत वस्तीले यसअघि भारी मतान्तरले कांग्रेस र माओवादीलाइ पराजित गरेका थिए ।  गाउँपालिकाको उपाध्यक्षको पनि टुंगो लागिसकेको छ । तर एमाले नेताहरूले उपमेयरको नाम भने बताउन चाहेनन् । यस्तै, एमालेले सुर्यगढि गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल र उपाध्यक्षमा गंगा आचार्यलाई उमेदवार बनाएको छ । 

No comments:

Post a Comment