Monday, April 18, 2022

गठबन्धन बैठक बिना निष्कर्श सकियो

काठमाडौँ — महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख रउपप्रमुख पदको भागबण्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार साँझसम्म महानगर र उपमहानगरको सिट बाँडफाँटको सहमति गर्ने पूर्वतयारीसहित पाँच दलका शीर्ष नेताहरूबीच बिहानैदेखि छलफल भए पनि सिट बाँडफाँटबारे सहमति जुट्न सकेन । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि विना निष्कर्ष टुंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । ‘लामो छलफल भयो । धेरै आधार तय भइसकेको छ । करिब–करिब सहमति नजिक पुगेको छ,’ उनले भने, ‘तर कुनै निर्णय भएको छैन ।’

सोमबारको बैठक निष्कर्षनजिक पुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज हामीले तालमेलको विषयमा छलफल गर्यौँ, निष्कर्षको नजिक पुगेका छौं,’ उनले भने, ‘अब भोलि दिउँसो साढे ११ बजे फेरि बैठक बस्छौं, र निर्णयमा पुग्छौं ।’

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफलमा छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । नेताहरूले त्यही मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेका छन् भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।

No comments:

Post a Comment