Friday, April 15, 2022

एमाले नुवाकोटको चुनावी सभा–ओली आउनुअघि नै कार्यक्रम शुरु, कुन–कुन नेताले बोले ?


नुवाकोट । बैशाख २ ।

नुवाकोटको बट्टार हावाघरमा नेकपा एमालेको चुनावी सभा शुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ओली आईपुग्नु अघिदेखि नै कार्यक्रम शुरु भएको हो । 

कार्यक्रममा हालसम्म नेकपा एमालेका नेता महेन्द्रवहादुर पाण्डे, विन्दा पाण्डे, केशव पाण्डे, नारायणप्रसाद खतिवडा, विन्दा ढुङ्गाना, ठाकुरप्रसाद गजुरेलले आफ्नो मन्तब्य राखेका छन् । वक्ताहरुले फेरि एकपटक नेकपा एमालेलाई मतदान गरी एमालेको एकल नेतृत्वमा स्थिर सरकार गठन गर्ने अवसर दिन आव्हान गरेका छन् । 

कार्यक्रममा नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले माओवादीलाई फेरि एमालेको बुई चढेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबारको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले राखेका भनाइको सन्दर्भ उल्लेख गर्दै उनले फेरि एमालेको बुई चढेर चुनाव जित्ने सपना नपाल्न चेतावनी दिए ।

नेकपा एमालेका नेता नारायण खतिवडाले केही कमजोरी भएको भए सुधार्न तयार रहेको तर भोट एमालेलाई नै दिन अनुरोध गरेका छन । उनले वैशाख ३० को स्थानीय निर्वाचनको कुरा गर्दै पाँच वर्षको कार्यकालमा एमालेले जितेका स्थानीय तहमा भएका काम र अन्य दलका नेताले जितेको स्थानीय तहमा भएका कामको लेखाजोखा गरेर भए पनि एमालेलाई देश र जनताका लागि थप काम गर्ने अवसर दिन अनुरोध गरेका छन । नेकपा एमालेका नेता ठाकुर गजुरेलले वैशाख ३० को स्थानीय निर्वाचनमा विदुर नगरपालिकामा पाँच दलीय गठबन्धनलाई धुलो चटाउने बताएका छन । एमालेको बागमती प्रदेश कमिटीका सदस्य र विदुर नगरपालिकामा २०४९ र २०५४ सालमा दुई पटकसम्म एमालेका तर्फबाट विजयी भएका गजुरेलले अबको निर्वाचनमा पनि विदुरमा एमालेको नेतृत्वको विकल्प नभएको बताए ।

 कार्यक्रमका लागि एमालेले जिल्लाको १२ वटै पालिकाबाट मोटरसाइकल ¥यालीसहित कार्यकर्ता जम्मा गरिएको छ । 


No comments:

Post a Comment