Sunday, April 3, 2022

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत् हुने


पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । 

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् । संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् ।

No comments:

Post a Comment