Friday, March 11, 2022

कांग्रेसको चुनाव लक्षित अभियान शुरु

  नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भने, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’ अभियान सञ्चालन सुरु भएपछि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि पुग्ने प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि एक महिनासम्म चुनावी अभियान सञ्चालन हुन्छ। त्यसपछि केन्द्रीय प्रतिनिधि र पार्टी पंक्तिलाई ७७ जिल्लामा पुगेर कामको जिम्मेवारी दिइने छ’, प्रवक्ता महतले भन्नुभयो, ‘सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको छ। सातै प्रदेशमा अधिवेशनबाट कमिटी बनेको छ। उहाँरुबाट पार्टी पंक्तिको परिचालन गर्ने काम हुन्छ।’

डा. महतका अनुसार केन्द्रीय प्रतिनिधिले केन्द्रका निर्णय कार्यान्वयन प्रभावकारी बनाउने र अभियानलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नेछन्। केन्द्रीय कार्यक्रम प्रभावित नहुने गरी प्रदेश र स्थानीय समितिले काम गर्ने उनको भनाइ छ। ‘केन्द्रका कार्यक्रम प्रभावित नहुने गरी प्रदेश कमिटीले काम गर्नेछन्’, उहाँले थप्नुभयो, ‘जिल्ला कार्यसमितिले जिल्ला तहमा प्रतिनिधि चयन, वडासम्मको समन्वय नर्गुपर्नेछ।’ प्रवक्ता महतले यो अभियानको प्रमुख बागडोर सम्हाल्ने जिम्मेवारी स्थानीय तहलाई भएको उल्लेख गरे । ‘गाउँपालिका, नगरपालिका, वडा र टोल समिति जनतासँग जोडिएका हुन्छन्’, प्रवक्ता महतले भने, ‘सबैभन्दा महत्वपूर्ण जिम्मेवारी उहाँहरुको हो। घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियानको प्रमुख बागडोर उहाँहरुको हुनेछ।’ चुनाव नजिकिएपछि गाउँपालिका र नगरपालिकाको आवश्यकता अनुसार घोषणापत्र तयार गर्ने उहाँको भनाइ छ।

चुनावमा काँग्रेसले प्रचार प्रसारलाई विशेष ध्यान दिने भएको छ। सामाजिक सञ्जालमा हुने प्रचारप्रसार महत्वपूर्ण हुने भन्दै यसको भरपुग उपयोग हुने प्रवक्ता महतले बताए। ‘सामाजिक सञ्जालमा प्रचारप्रचार महत्वपूर्ण छ। यसलाई चुस्त दुरुस्त बनाउने काम हुन्छ’, चुनाव अगाडि हामी यसलाई भरपुग उपयोग
गर्छौँ।’ प्रवक्ता महतले विपक्षीको भ्रामक प्रचार चिर्ने काम अब काँग्रेसले गर्ने दाबी गर्नुभयो। चुनावी प्रचार र पार्टीको कामलाई जनतासमक्ष पुर्याउन विभिन्न संगठनको प्रयोग गर्ने निर्णयसमेत काँग्रेसले गरेको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सत्ताको नेतृत्वकर्ता काँग्रेसले एक महिने चुनावी कार्यक्रम सार्वजनिक गरेको हो। 

गठबन्धनको विषयको टुंगो अहिले भइनसकेको काँग्रेसले प्रष्ट पारेको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले यो अभियानमा काँग्रेसले जनताका कुरा सुन्ने उल्लेख गरे । 


No comments:

Post a Comment