Saturday, March 19, 2022

दक्षिण एसियामा सबैभन्दा खुसी देशको सूचीमा नेपाल

नुवाकोट/ ४ चैत्र २०७८


नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ ।संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । सर्वेक्षणमा नेपाल ८५ औं स्थानमा पुग्न सफल भएको हो । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औँ स्थानमा छ ।

फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।

No comments:

Post a Comment