Saturday, March 12, 2022

आफ्नै खुट्टामा उभिएर चुनावमा लड्ने छौं–प्रचण्ड



श्रीराम नेपाल/नुवाकोट

२८ फागुन २०७८ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा माओवादी एक्लै लड्न सक्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आफ्नै खुट्टामा उभिएर चुनावमा जाने कुरालाई उच्च प्राथमिकता दिने नीति लिएको बताए । 

प्रेस सेन्टर नुवाकोटले विदुर नगरपालिकाको पिपलटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले जनतासँग सम्बन्ध बलियो वनाएर आफनै तागतमा उठ्ने कुरालाई उच्च प्राथमिकता दिएको बताएका हुन् । तर, निर्वाचन नजिक आउँदै गर्दा तालमेललाई पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनका दलहरु विचमा नै तालमेल गरिने अध्यक्ष प्रचण्डको भनाई रहेको छ । 

माओवादी पार्टीको केन्द्रिय समिति बैठकको निर्णय अनुसार दुई महिने निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरे अनुसार देशब्यापी अभियानमा रहेको उनले बताए । एमसीसी पास भएसँगै पार्टी भित्र फुट आउन सक्ने हल्ला वाहिर चलेपनि पार्टी भित्र त्यस्तो अवस्था नरहेको उनले बताए । 

नुवाकोटमा जन्मिएर माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टवहादुर बोगटीको शालिक अनावरण कार्यक्रमका लागि प्रचण्ड नुवाकोट आएका हुन् । कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी लगायतको उपस्थिती रहेको छ ।

No comments:

Post a Comment