Tuesday, March 1, 2022

नुवाकोटमा भब्य रुपमा मनाईदै शिवरात्री पर्व

श्रीराम नेपाल/नुवाकोट

हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा नुवाकोटका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । विदुर नगरपालिकाको देविघाटमा रहेको ६४ धाम, दुप्चेश्वर गाउपालिकाको दुप्चेश्वर महादेव मन्दिर लगायत शिवधाममा विहानै देखि हिन्दु धर्मावलम्बीहरुको भिड लागेको हो । 

बट्टार वजारमा रहेको मध्यपशुपतिनाथ मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको वाक्लो उपस्थिती रहेको छ । भगवान शिवको त्रिशूलवाट उत्पती भएको मानिने पवित्र नदी त्रिशूलीमा स्नान गरी शिवको व्रतआराधाना गरेमा मोक्ष मिल्ने जनविश्वास रहेको छ । पवित्र त्रिशूली नदी र तादी नदीको संगमस्थल देविघाटको जालपादेवि मन्दिर परिसरमा स्नान गरी यहाँका भक्तजनहरुले पुजाआजा गर्ने गरेका छन् । चोकहरुमा विहानै देखि शिवधुनी बाल्न थालिएको छ । आजको दिन विशेष गरी बेलुकीको समयमा शिव मन्दिर परिसरमा शिवधुनी बालेर तापेमा शरिरमा हिउँदभरी रहेको चिसो हट्ने विश्वास रहँदै आएको छ । 

फागुन कृष्ण चतुर्दशीका दिन हरेक वर्ष शिवरात्री पर्व विशेष आस्थाका साथ मनाईने गरिएको छ । आजको दिन विहानै नुवाई धुवाई गरी शिव मन्दिरमा भक्तजनहरुले पुजाआजा गर्ने गरेका छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ‘ओम नमः शिवाय’ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रुद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिनको रुपमा  शिवरात्री पर्व फागुन कृष्ण चतुर्दशीमा मनाइन्छ ।

पछिल्लो समय शिवरात्रीको दिन विहानै देखि सडकमा वालवालिकाहरुले डोरी टाँगेर पैसा माग्ने विकृती बढेको छ । मुख्य सडकहरुमा हुने यस्ता क्रियाकलाले पर्वमा विकृती बढ्नुका साथै दुर्घटनाको सम्भावना पनि रहने भएकोले यस तर्फ अभिभावकहरु सचेत रहनुपर्ने देखिएको छ । 


No comments:

Post a Comment