Monday, February 21, 2022

प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै


नुवाकोट । “शिवपुरीको शान, युवा खेलाडीको पहिचान” भन्ने मुल नाराका साथ  श्री शेराबगर विकास समाजले आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता २०७८ यहि फागुन १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । शिवपुरी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडाले भाग लिएको प्रतियोगिताको समूह ए मा ३ वटा वडा र समूह बी मा ४ वटा वडा रहेका छन् । लिगकम नकआउट नाइन ए साइड ढाँचामा शिवपुरी रंगशालामा प्रतियोगिता हुनेछ ।

सार्वजनिक खेल तालिका अनुसार समूह ए मा वडा नं. ४, वडा नंं २ र वडा नंं ६ रहेका छन् । त्यस्तै समूह बी मा वडा नं. ५, वडा नं. ३, वडा नंं ७ र वडा नं. १ रहेका छन् । वडा भित्र रहेका खेलाडी मात्र भाग लिनुपर्ने आयोजकको नियम भएकाले वडा नंं ८ ले भने खेलाडी नपुगेका कारण भाग लिएन । प्रतियोगिताको पहिलो खेल फागुन १३ गते बिहान साढे ८ बजे वडा नं. ४ र वडा नंं २ बीच हुनेछ । त्यसपछि औपचारिक उद्घाटन कार्यक्रम सञ्चालन हुनेछ । सोहि दिन दिउँसो साढे १२ बजे वडा नं. ५ र वडा नंं ३ बीचको खेल हुनेछ भने अर्को खेल दिउँसो ३ बजे वडा नं ७ र वडा नंं १ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । साथै हरेक खेलका म्यान अफ द म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । 

शिवपुरी गाउँपालिकाका विभिन्न वडामा रहेका खेलाडीहरुको पहिचान, उनीहरुको क्षमता अभिवृद्धि, खेलको माध्यमबाट शिवपुरी गाउँपालिका र यस पालिकामा रहेको शिवपुरी रंगशालाको प्रचार प्रसार गर्नु प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य रहेको श्री शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए । 

खेल तालिका सार्वजनिक कार्यक्रममा शिवपुरी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर थापा, एन्फा रेफ्री सुकराज घले र प्रकाश सिटौला तथा सहभागी ७ वटै वडाका टिम क्याप्टेन उपस्थित थिए । 


No comments:

Post a Comment