Tuesday, February 22, 2022

यूएईलाई पन्छाए नेपाल विश्वकप क्रिकेटमा

काठमाडौँ — नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ ।

नेपालका कप्तान सन्दीप लामिछाने क्यानडाको विकेट लिएपछि दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफशेखलगायतसँग खुसी साट्दै। तस्बिर सौजन्य स् सुबास हुमागाईंरहाम्रो खेलकुद

नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्‍याएको थियो भने जिम्बावेमा भएको पपुवा न्युगिनीसँगको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको थियो । आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुनः पुग्नेछ । नेपाली क्रिकेट शुभचिन्तक मंगलबारको जितको व्यग्र प्रतीक्षामा छन् । नेपालले जित निकालेको खण्डमा त्यो घरेलु दर्शकका लागि दशकपछिको ठूलो खुसी फर्किएको दिन हुनेछ ।

नेपाली क्रिकेट फेरि एकपल्ट त्यही संघारमा आइपुगेको छ, जसमा टिकेर यो खेलले नेपालका लागि अन्तर्राष्ट्रिय फड्को मार्ने सपना बुन्न सक्छ । यूएईलाई पन्छाउँदै अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न तयार रहेको जनाउँदै नेपालका प्रशिक्षक पुबुदु दासानायकेले मस्कटबाट  भने, ‘हामी यूएईलाई पन्छाउनेछौं ।’

क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन । क्यानडालाई नेपालविरुद्ध जुन डर थियो, त्यसले उसलाई छोप्यो ।

नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।

कमलसिंह ऐरीले सुरुआतमै दुई विकेट लिनुका साथै एक रनआउट गरेर नेपाललाई सानदार सुरुआत दिलाए । त्यसमा प्लेयर अफ द म्याच कप्तान सन्दीप लामिछानेले ३ विकेट थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रियको ३२ खेलमा ५८ विकेट लिइसके पनि सन्दीप पहिलोपल्ट यस संरचनामा प्लेयर अफ द म्याच चुनिएका छन् । यसै प्रतियोगिताका ३ खेलमा उनले ८ विकेट लिइसकेका छन् ।

यूएईसँगको खेललाई लिएर आफूहरू मानसिक रूपमा तयार हुनुका साथै विजयको भोक रहेको कप्तान सन्दीप बताउँछन् । ‘यूएईसँगको खेल हाम्रा लागि निकै ठूलो हुनेछ, त्यसैले हामी यसमा शतप्रतिशत खेल्नेछौं,’ सन्दीपले आईसीसीसँग भनेका छन्, ‘अहिलेसम्मको यात्रा धेरै राम्रो भइरहेको छ र यूएईसँगको खेललाई हामी व्यग्र प्रतीक्षा गरिरहेका छौं ।’

सबै ३ खेल जितेर नेपाल समूह ‘बी’ को विजेता बनेको हो । नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । यूएई भने सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो ।

यूएईलाई अझ १ सय ५७ रनमाथि पुग्न अन्तिम ओभरमा १२ रन चाहिन्थ्यो । भृत्या अरविन्दले २४ रन बनाउँदै यूएईलाई बहराइनको स्कोर नजिक पुर्‍याए पनि जित दिलाउन सकेनन् । यूएईले ६ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सक्यो । यूएईको पराजयपछि आयरल्यान्ड समूह ‘ए’ को विजेता बन्यो र ओमानसँगको अर्को सेमिफाइनल भिडन्त पक्का गर्‍यो । बहराइनभन्दा यूएई नेट रनरेटमा थोरैले मात्र अगाडि रहेर समूह उपविजेता हुँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

No comments:

Post a Comment