Wednesday, February 16, 2022

स्ट्रबेरीबाटै मनग्गे आम्दानी गर्दै ककनीका किसान

            

५ फागुन २०७८ ।
नुवाकोटको ककनी गाउँपालिकास्थित काउलेकी मंगली तामाङ शनिबार स्ट्रबेरीका पुराना बिरुवा उखेल्दै थिइन् । एक सिजनको फसल उत्पादनपछि अर्को सिजनमा ती बिरुवा फ्याँक्नुपर्छ । ‘यो बोटबाट फल्ने फल फलिसक्यो । सुक्न लागेकाले गोड्न लागेको हो । यसपछि अर्को बिरुवा रोपिन्छ, त्यसमा फल्छ,’ उनले भनिन् । उनले ४ आना जग्गाबाट सुरु गरेको स्ट्रबरी खेती अहिले १ रोपनीमा फैलाइसकेकी छन् । 

        ‘पहिला अरूले खेती गर्थ्यौं, त्यहीँ काम गर्न जान्थ्यौं । त्यहीं सिकियो, अहिले आफैं खेती गर्दै छौं,’ उनले भनिन्, ‘खेती गर्न थालेको पनि ८र९ वर्ष भयो ।’ स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा ३० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । तर यस वर्ष मौसमले साथ नदिएको उनको भनाइ छ । ‘भदौ–असोजमा लगातार पानी पर्‍यो, स्ट्रबेरी फल्ने सिजनमै धोका भो,’ उनले भनिन्, ‘मंसिरदेखि जाडो लाग्यो, माघमा असिनाले फल बिगार्‍यो ।’ बालीमा क्षति पुगे पनि गाउँपालिकाबाट केही राहत नपाएको उनको गुनासो छ । ‘ककनी स्ट्रबेरी खेतीबाटै चिनियो । तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । आफैं नर्सरीमा बिरुवा उत्पादन गर्‍यो अनि आफैं रोप्यो, बेच्यो,’ उनले भनिन्, ‘पहिला पनि यस्तै थियो, स्थानीय सरकार आए पनि उस्तै छ ।’ ककनीको काउले, हिलेभित्ते र चित्रेका झन्डै ४ सय किसानले स्ट्रबेरी खेती गर्दै आएका छन् । उनीहरूले कम्तीमा १ रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गरिरहेका छन् । झन्डै तीन दशकदेखि यहाँको प्रमुख नगदेबाली नै स्ट्रबेरी हो । काउलेकै लुप्से लामाले पनि १० वर्षदेखि ५ रोपनी क्षेत्रफलमा स्ट्रबेरी लगाइरहेका छन् । 

‘खुलामा खेती गर्दा असिना–पानीले बिगार्छ, टनेलमा गर्दा फलमा ढुसी लाग्छ,’ उनले भने, ‘ढुसी हटाउन घरायसी औषधि हाल्छौं, त्यो पनि फल लागेपछि मिल्दैन ।’ ढुसी लागेको फल देख्दा सफा र आकर्षक नहुँदा बिक्री कम हुने भएकाले घाटा लाग्ने गरेको उनले सुनाए । ‘ढुसी लाग्न नदिन गाउँकै डाक्टरले भन्या सबै गर्‍यौं, तर ढुसी हराएन,’ उनले भने, ‘स्ट्रबेरीका डाक्टर नै छैनन् । राम्रो खेती हुने भए पनि यसको समस्या समाधान गर्न कसैको ध्यान गएको छैन ।’ साउदी अरबमा सात वर्षसम्म कमाएको रकम उनले घर फर्किएर स्ट्रबेरी खेतीमा लगाएका हुन् । आफ्नै ठाउँमा खेती गर्न पाउँदा उनी खुसी त छन् । तर बेलाबेला निम्तिने विभिन्न समस्याका कारण आजित छन् । स्ट्रबेरीमा क्षति हुँदा गाउँपालिकाले सहयोग नगरेको उनको पनि गुनासो छ । 

‘गाउँपालिकाले तालिम पनि दिँदैन, न त अरू सहयोग नै दिन्छ । अहिलेसम्म आफैं सिक्यो, आफैं गर्‍यो,’ उनले भने । स्ट्रबेरी वर्षमा ७ महिनासम्म फल्छ । कात्तिकदेखि वैशाखसम्म स्ट्रबेरी टिप्न मिल्छ । त्यसपछि असोजम्म पुरानो बिरुवाको पात टिप्ने, नयाँ बिरुवा र जग्गा तयार पार्ने काम हुन्छ । विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन बढी हुने हिलेभित्तेका दीपेश तामाङले बताए । उनले साढे ५ रोपनी जग्गामा स्ट्रबेरी रोपेका छन् । वार्षिक ३० लाख रुपैयाँ बराबरको व्यापार भए पनि खर्च कटाउँदा १५ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ ।ककनीमा २०४६ मा जापानी सहयोग नियोग जाइका अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही बिरुवा रोपेर परीक्षण थाल्यो । तर पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती विस्तार भएको हो । अहिले धेरैजसो किसान आफैंले नयाँ बिरुवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ ।   

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत सहरमा पुग्छ । ताजा स्ट्रबेरी बिक्री गर्दै किसानले यसबाट बन्ने जाम, जेली, क्यान्डी, चकलेटलगायत खाद्य सामग्री बनाउन भने सकेका छैनन् । दीपेशसहित ७ जनाको समूह मिलेर जाम बनाउन सुरु गरेका थिए । जाम बनाए पनि सातामै ढुसी लाग्ने भएपछि बनाउन छाडेको उनले सुनाए । ‘हामीलाई प्राविधिक ज्ञान छैन । ठाउँठाउँमा गएर अध्ययनरअवलोकन पनि गर्‍यौं । तर भनेको जस्तो जाम बनाउन सकेनौं,’ उनले भने । सिजनमा ताजा स्ट्रबेरी बेच्दा किसानले पाउनुपर्ने उचित मूल्यसमेत नपाउने गरेको उनले सुनाए । ‘सबै किसानले उत्पादन आफैं बेच्न सक्दैनन् । त्यसैले बजारमा मूल्य नघटे पनि किसानले पाउने मूल्य भने घटबढ भइरहन्छ,’ उनले भने, ‘पुस–माघमा प्रतिकिलो ४ सय हुनुपर्ने हो । तर अहिले होलसेलमै किलोको २ सय ५० रुपैयाँ छ ।’ स्ट्रबेरीमा लाग्ने रोग, बजार व्यवस्थापनतर्फ पालिकाले समेत ध्यान नदिएको उनले गुनासो गरे । 

1 comment:

  1. story copy garepaxi credit chai dinu vayenatw. yo maele lekheko story ho kantipur dailyma

    ReplyDelete