Saturday, February 26, 2022

एक खर्बको निर्यात हुँदा ११ खर्बको आयात

 काठमाडौँ — पछिल्लो समय मुलुकको व्यापार घाटा अचाक्ली बढेको छ । आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात तीव्र रूपमा बढेपछि घाटा चुलिएको हो । चालु आर्थिक वर्षका ७ महिनामा व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणले देखाएको छ ।

आर्थिक वर्ष २०७७र७८ को तुलनामा यो रकम ३८।४५ प्रतिशत बढी हो । २०७७र७८ मा व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७२ करोड रहेकामा अहिले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

मुलुकबाट करिब १ सय ४८ मुलुकसँग व्यापार हुन्छ । आयातमुखी व्यापार हुँदा धेरैजसो मुलुकसँग व्यापार घाटा छ । ७ महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । यो रकम गत वर्षको पहिलो ७ महिनाको तुलनामा ४२।७८ प्रतिशत बढी हो । गत वर्ष ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको आयात भएको थियो । कृषिजन्य वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च देखिएको जानकारहरू बताउँछन् । ‘भटमास स्वदेशमै उत्पादन गर्न सकिन्छ, व्यावसायिक खेतीको सम्भावना पनि छ । तर, विडम्बना आयात हुने वस्तुमा भटमासको कच्चा पदार्थ दोस्रो स्थानमा छ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजूले भने, ‘भटमासबाहेक अन्य कृषिजन्य वस्तुको आयात पनि उच्च छ ।’ भन्सार विभागका अनुसार ७ महिनामा ३९ अर्ब ६६ करोडको भटमासको कच्चा पदार्थ आयात भएको छ । गत वर्षको पहिलो ७ महिनामा भने २० अर्ब ९८ करोडको आएको थियो ।

सरकारले घोषणा गरेको तुलनात्मक लाभका वस्तुबाट पनि पर्याप्त फाइदा लिन नसकेको सैंजू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा माग भए पनि समयमै उत्पादन बढाउन नसकिएको उनको भनाइ छ । आपूर्ति चक्रको सही व्यवस्थापन र पूर्वदेखि पश्चिमसम्म यातायात सहज नहुँदा पनि उत्पादन र बजारमा समस्या देखिएको सैंजूले बताए । मुलुकको व्यापार आयातमुखी भएकाले घाटा बढ्ने क्रममा छ । कृषिजन्य वस्तुसँगै सुन, मोबाइल, सवारीसाधन, इलेक्ट्रोनिक पनि आयात नै गर्नुपर्छ । इन्धनले व्यापार घाटा झन् बढाएको छ । आयात हुने वस्तुमा पहिलो नम्बरमा डिजेल रहेको विभागको तथ्यांक छ । ७ महिनामा ७२ अर्ब ९७ करोड रुपैयाँको डिजेल आएको छ । जब कि गत वर्षको ७ महिनामा ३९ अर्ब ७० करोडको आएको थियो । दोस्रो नम्बरमा भटमास तेल छ । यस अवधिमा ३९ अर्ब ६६ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आएको विभागले बताएको छ । तेस्रो नम्बरमा ३४ अर्ब ६९ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

गत वर्ष ७ महिनामा १७ अर्ब २६ करोड रुपैयाँको ग्यास आएको थियो । ७ महिनामा ३३ अर्ब ५६ करोडको पेट्रोल, २९ अर्ब ८७ करोडको एमएस बिलेट, २९ अर्ब २२ करोडको कच्चा पाम तेल आएको छ । २८ अर्ब ३८ करोडको मोबाइल टेलिफोन र २७ अर्ब ६२ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । ७ महिनामा २६ अर्ब ८५ करोडको कोभिडको खोप आयात भएको छ । गत वर्षको पहिलो ७ महिनामा भने १ अर्ब ३४ करोडको कोभिड खोप आएको थियो । पछिल्लो समय निर्यात व्यापार पनि बढेको छ ।

सात महिनामा निर्यात व्यापार ८८।३० प्रतिशत बढेर १ खर्ब ३० अर्ब ६५ करोड रुपैयाँ पुगेको विभागको तथ्यांक छ । सबैभन्दा बढी भटमासको प्रशोधित तेल ३६ अर्ब ८५ करोडको निर्यात भएको छ । गत वर्ष ७ महिनामा १९ अर्ब ५९ करोडको निर्यात भएको थियो । दोस्रोमा प्रशोधित पाम तेलकै निर्यात ३४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यसको निर्यात न्यून थियो ।

व्यवसायीहरूले भटमास, सनफ्लावर, पाम तेलको कच्चा पदार्थ आयात गरी यहाँ रिफाइन गरेर पुनः भारत पठाउने गरेका छन् । निर्यात बढाउन सरकारले निर्यातमा सहुलियत दिएको छ, जसले गर्दा व्यवसायीहरूले आयातित कच्चा तेल रिफाइन गरेर भारत पठाइरहेका छन् । भ्यालु ऐड गरी निर्यात हुँदा स्वदेशमा रोजगारीसँगै मुलुकले राजस्व पनि पाएको सैंजूले बताए । यद्यपि कच्चा पदार्थ आयातभन्दा पनि स्वदेशमै उत्पादन गर्नेतर्फ जोड दिनुपर्ने उनको भनाइ छ । ७ महिनामा ७ अर्ब १ करोडको सेन्थेटिक यार्न, ५ अर्ब ९ करोडको ऊनी गलैंचा र ४ अर्ब १९ करोडको तयारी कपडा निर्यात भएको विभागको तथ्यांक छ । जुटका बुनिएका कपडा ३ अर्ब ७० करोड, जमोठ कपडा २ अर्ब ९४ करोड, फलफूलको जुस २ अर्ब ९१ करोड, अलैंची २ अर्ब ६३ करोड र सूर्यमुखीको प्रशोधित तेल २ अर्ब ६४ करोडको निर्यात भएको छ ।

No comments:

Post a Comment