Wednesday, February 23, 2022

तादी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रशारणमा जोडिदै

नुवाकोट,फागुन १० । 


नुवाकोटको तादी खोलामा रहेको ५ मेगावाटको तादी खोला जलविद्युत आयोजनाले अबको एक सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण सम्पन्न जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सबै चरणको आन्तरिक परीक्षण पूरा भइसकेको प्रवद्र्धक बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनीका सञ्चालक बलाराम खतिवडाले बताए । उनका अनुसार आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न नेपाल विद्युत प्राधिकरणको प्रविधिक टोली नुवाकोट पुग्दैछ । प्राधिकरणका प्राविधिक आगामी १६ गते (सोमबार) आयोजनास्थल पुग्नेछन् ।

हामीले आयोजनाको संरचनाको परीक्षण सबै सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि विद्युत उत्पादन सुरु हुन्छ ।’ उनले करिब २ साताको परीक्षण  उत्पादनपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन थालिने बताए । परीक्षण उत्पादनको समयमा २ सातासम्म प्राधिकरणले आयोजनाबाट निशुल्क विद्युत पाउनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको हो ।

आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ । तादी बेसिनमा यो आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।


No comments:

Post a Comment