Tuesday, September 5, 2017

नुवाकोट र रसुवाका एक दर्जन चेक पोष्टले किन थाहा पाएनन् सुन गएको

नुवाकोट सन्देश संवाददाता । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।
कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो ।
महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।
सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।
समूहबीचको विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।
सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।

No comments:

Post a Comment