Thursday, August 1, 2013

संविधानसभा चुनावको उम्मेदवारी दर्ता असोज १० गते

 मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० गते हुने भएको छ । यस्तै समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने दिन असोज ७ गतेका लागि तोकिएको छ ।
निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने समय असोज ७ गते तोकिएको छ । दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ गएका उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
८ गते नामावली दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी पहिलो हुने निवाचन प्रणाली अर्थात प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ ।
११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

No comments:

Post a Comment