Monday, November 19, 2012

नजन्मदै फुट्यो जनजाती पार्टी


      जनजातीको नाममा पार्टी फुटाएर गएका नेताहरु आफै फुटेका छन् । जनजातिहरुको राष्ट्रिय पार्टी गठनमा जुटेका जनजाति नेता र अगुवाबीच नयाँ पार्टीको सिद्धान्तलाई लिएर विवाद देखा परेको छ । सैद्धान्तिक विवाद चर्किएपछि लोकतान्त्रिक र वामपन्थी खेमाले छुट्टा-छुट्टै पार्टी गठन गर्ने सम्भावना बढेको छ । वामपन्थी खेमाको नेतृत्व एमाले परित्याग गरेका अशोक राईले गरेका छन् भने लोकतान्त्रिक समूहमा कांग्रेस त्यागेका कुमार राई समूह र चैतन्य सुब्बालगायतका बुद्धिजिवी छन् ।

      केही दिनअघि नगरकोटमा बसेको संयुक्त कार्यदल बैठकले नयाँ पार्टी गठनसम्वन्धी २५ बुँदे सहमति गरे पनि अशोक राई नेतृत्वको वामपन्थी खेमाले नमानेपछि विवाद बढेको हो । राई समूहले माक्र्सवादलाई संघीय समाजवादलाई प्रेरक सिद्धान्त बनाउनुपर्ने अडान लिएको थियो भने लोकतान्त्रिक समूहले समाजवादसम्म स्वीकार गर्नर्े तर, माक्र्सवादलाई कुनै हालतमा नमान्ने बताएको थियो ।

‘नगरकोट बैठकले २५ बुँदे सहमति गरेपछि विधानलगायतका विषयमा ७५ प्रतिशत काम भइसकेको थियो । तर, अशोकजीहरु पछि हट्नुभयो’ संयोजक सुब्बाले अनलाइनखबरसँग भन्नुभयो- ‘कांग्रेसबाट आएका साथीहरु समाजवादसम्म जान तयार हुनुभयो । तर, उहाँहरु माक्र्सबाद छाड्नै चाहन्नुहुन्न ।’ राई समूहमा रहेका अजम्बर काङमाङ राईले माक्र्सबादलाई छाडेर नयाँ पार्टी बन्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामीले संघीय समाजवादको प्रेरक सिद्धान्त माक्र्सवाद राखौं भनेका हौं । यसलाई छोडेर नयाँ पार्टी गठन हुन सक्दैन ।’
अशोक राईलाई नेतृत्व दिन सहमत दुई खेमाबीच पार्टीको नाममा पनि विवाद छ । राई समूहले संघीय समाजवादी पार्टी प्रस्ताव गरेको छ भने लोकतान्त्रिक समूहले कार्यदलमा सहमति भएअनुसार नै संघीय प्रगतिशील लोकतान्त्रिक पार्टी हुनुपर्ने बताएको छ । कार्यदल सदस्य कुमार राईले अनलाइनखबरसँग भन्नुभयो-’लोकतान्त्रिक समूहको लोकतान्त्रिक र बामपन्थीको प्रगतिशीललाई मिलाएर राखिएको नाममा पनि अशोकजीले असहमति राख्नु भएको छ । कुरा मिल्नेतिर गएको छैन ।’ नेताहरुको अनुसार कार्यदलले अध्यक्ष, सह-अध्यक्ष, महासचिव सहमहासचिव रहने केन्द्रीय कार्यसमितिको समेत खाका कोरिसकेको थियो ।
सैद्धान्तिक विवाद चर्किएपछि अशोक राई नेतृत्वको समूह लोकतान्त्रिक समूहलाई छाडेर मंसिर ७ गते नयाँ पार्टी घोषणाको तयारीमा जुटेको छ । यद्यपि त्यसअघि सहमतिका लागि अन्तिम पहल गर्ने नेता राईले बताउनु भयो । ‘भोलि र पर्सी निर्णायक वार्ता गछौं’ राईले भन्नुभयो-’सहमति हुन सकेन भने पनि विचार मिल्ने साथीहरुलाई समेटेर नयाँ पार्टी घोषणा गछौं ।’ लोकतान्त्रिक समूहले भने राई समूह ‘भाई एमाले’ बन्न खोजेको भन्दै ७ गतेको पार्टी घोषणामा सहभागी नहुने रणनीतिमा छ । ‘उहाँहरु विद्रोह गर्दा उठाएको एजेण्डालाई छाडेर पुरानै पार्टीकै सिद्धान्त बोकेर भाइ एमाले बन्नेतिर लाग्नु भएको छ ‘ सुब्बाले भन्नुभयो-’भाइ एमाले बन्ने हो भने आफ्नै रुपमा जानुस् । कुनै आपत्ति छैन भनेका छौं ।’ सुब्बाले राई समूहले छुट्टै पार्टी गठन गरे आफूहरु पूरानै प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी गठन गर्ने बताउनु भयो ।
चैतन्य सुब्बा, कृष्ण भट्टचन लगायतको समूहले ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ को प्रस्तावित स्वरुप सार्वजनिक गरेको थियो । पार्टी घोषणा गर्ने तयारी गरेपछि अन्तिम समयमा अशोक राई समूहसँग सहमति भएपछि प्रस्तावित भनेर सार्वजनिक गरेको थियो ।

No comments:

Post a Comment