Tuesday, February 28, 2012

मन्त्री परिषदले के के निर्णय ग-यो ?

सरकारले आज दिउँसो राजधानीमा भएको बम विष्फोटनको निन्दा र भत्सर्ना गर्दै अपराधीलाई कडा कारवाही गर्नका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 
मन्त्रिपरिषद्को आज बसेको बैठकले बम विष्फोटनमा संलग्नहरूलाई कडाभन्दा कडा कारवाही गर्न र घाइतेहरूलाई उपचारको व्यवस्था गर्न निर्देशन दिइएको भौतिक योजना तथा निर्माण मन्त्री हृदेयश त्रिपाठीले बताए।
यसैगरी महालेखा परीक्षकको कार्यालय, कौशीतोषाखाना र कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता चालु आर्थिक वर्षबाटै उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्री त्रिपाठीका अनुसार कृषि सेवा, लेखा, प्रशासन, परराष्ट्र तथा इन्जिनियरिङ सेवाहरूमा कार्यरत कर्मचारीलाई राजपत्र अनङ्कित एकमा बढुवा गर्ने भएको छ।
यसरी बढुवा हुनेहरूमा अम्बिकादेवी लुईँटेल, निरञ्जनमान बस्नेत, निरु दाहाल, गणेशराज शर्मा, उद्धव चन्द, राजेन्द्रप्रसाद शर्मा छन्।
यसैगरी सामान्य प्रशासन मन्त्रालयका सचिव तीलकराम शर्मालाई क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा सरुवा गरी उहाँको ठाउँमा सोही कार्यालयमा कार्यरत धरणीधर कोइरालालाई ल्याइएको छ।
यसैगरी विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष तथा सदस्यहरूलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यस्तै दोलखा र तनहुँ जिल्ला विकास समितिको भवनलाई भत्काएर लिलाम गर्ने र नयाँ स्थानमा निर्माण गर्ने भएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले नेपाली सेनाका महासेनानीमा सञ्जय थापालाई बढुवा गर्ने भएको छ।
नेपाल मधेसी कर्मचारी सङ्गठनको महाधिवेशनका लागि रु पाँच लाख नगद उपलब्ध गराउने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यसैगरी सामान्य प्रशासन मन्त्रालयले गत माघमा गरेको सरुवाको विषयमा ध्यान दिँदै अब सरुवा गर्दा नियमअनुसार सरुवा गर्न र त्यसको लागि कार्यविधि तयार गरिने भएको छ।

यस्तै फागुन ४ गते गठित समितिको प्रतिवेदनअनुसार सरुवा बढुवाको काम गर्न कार्यविधि बनाउने निर्णय भएको मन्त्री त्रिपाठीले बताए।
अस्थायी शिक्षकहरूलाई स्थायी गर्नका लागि सोसम्बन्धी ऐनलाई समेत आजको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

No comments:

Post a Comment